ad ad

राजनीति


फेरि सुरु भयो अफगानिस्तानमा युद्ध, सुरक्षाकर्मीसहित २२ को मृत्यु

फेरि सुरु भयो अफगानिस्तानमा युद्ध,  सुरक्षाकर्मीसहित २२ को मृत्यु

नेपालखबर
फागुन २१, २०७६ बुधबार ३:३०,

अफगानिस्तानमा फेरि युद्ध सुरु भएको छ। तालिबानले अफगान सेनासँग आंशिक रूपमा युद्धविराम भंग गरेपछि पुन: लडाइँ सुरु भएको हो।

जसका कारण आगामी साता हुने भनिएको शान्तिवार्ताप्रति सन्देह उत्पन्न भएको छ।

अधिकारीहरूका अनुसार १६ भन्दा बढी प्रान्तमा दुई समूहबीच भिडन्त भएको हो।

भिडन्तमा विद्रोही ८, सर्वसाधारण नागरिक ६ र ८ सुरक्षाकर्मीको मृत्यु भएको बीबीसीले जनाएको छ।

अफगान सरकारले भने तालिबानले स्थानीय स्तरमा पुन: आक्रमण सुरु गरेको २४ घण्टामा २० जनाको मृत्यु भएको जनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक तालिबान नेतासँग धेरै राम्रो कुराकानी भएको बताएका छन्।

गत सप्ताहान्तमा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौतापश्चात् उनीहरूबीच टेलिफोनमा कुराकानी भएको हो।

तालिबानका एक प्रवक्ताले अमेरिकी राष्ट्रपति र मुल्ला अब्दुल गनी बरादरबीच आधा घण्टाभन्दा लामो कुराकानी भएको बताए।

उनले दुवै नेताले अफगानिस्तानमा शान्ति स्थापना गर्ने इच्छा व्यक्त गरेको जानकारी दिए।

तालिबानका अनुसार ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई अफगान राष्ट्रपति अशरफ गनीसँग कुराकानी गर्न लगाउनेछन्।

त्यसो गर्दा अफगान सरकार र तालिबानबीच वार्ता सुनिश्चित हुने र शान्ति सम्झौताअनुसार योजना बनाउन सकिने उसको भनाइ छ।

कैदी आदानप्रदान गर्ने विषयमा विद्यमान विवादले उक्त सम्झौतामाथि प्रश्न उठेको छ। त्यसमा अफगान सरकार प्रत्यक्ष रूपमा संलग्न छैन।

सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ।

सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ।

तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतवार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका छन्।

सोमवार तालिबानले कैदीहरू रिहा नभए वार्ता सुरु नहुने बताएको छ।

तालिबानले अफगान अधिकारीहरूसँग भेट्ने तर कैदीहरूको रिहाइबारे मात्र कुराकानी गर्ने बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .