ad ad

छापा खबर


१२७ विद्युत् आयोजनाको लाइसेन्स रद्द

१२७ विद्युत् आयोजनाको लाइसेन्स रद्द

नेपालखबर
फागुन २१, २०७६ बुधबार ३:३९,

विद्युत् विकास विभागले ३ हजार ४ सय ४४ मेगावाटका १ सय २७ आयोजनाको लाइसेन्स रद्द गरेको छ।

जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन अनुमति लिएर अगाडि नबढाई लाइसेन्स होल्ड गरेका आयोजनाको अनुमति पत्र रद्द गरिएको खबर आजको राजधानी दैनिकमा पूजा चँदराले लेखेकी छन्।

विभागले समयमा नवीकरण नगरेका तथा लाइसेन्स लिएर होल्ड गरेर बसेका १ सय २७ आयोजनाको अनुमतिपत्र रद्द गरेको हो।

विद्युत् ऐन २०४९ को दफा ८ को अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्थालाई प्रयोग गर्दै यी आयोजनाको अनुमति रद्द गरिएको हो। नियमविपरीत कुनै काम गरेमा र उपदफा २ को १ मा तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्तिले आवश्यक सुधार नगरेमा तोकिएको अधिकारीले अनुमतिपत्र खारेज गर्न सक्ने ऐनमा उल्लेख छ।

ऐनको दफा १० मा अनुमतिपत्रमा तोकिएको अवधि समाप्त भएपछि विद्युत् उत्पादन केन्द्र वा प्रसारण तथा वितरण लाइनसँग सम्बन्धित सम्पूर्ण संरचना नेपाल सरकारको स्वामित्वमा हुने उल्लेख छ। रद्दसँगै यी आयोजना अब सरकारको अधीनमा रहनेछन्।

विद्युत् विकास विभाग प्रवक्ता निशा रिजालले अनुमतिपत्र जारी गर्दा उल्लेख गरिएको सर्तबमोजिम प्रगति नभएका र समयमा नवीकरण नगरेका आयोजनाको लाइसेन्स रद्द गरिएको बताइन्।

‘हामीले ६–६ महिनामा आयोजनाको प्रगति विवरण माग गर्दै आएका छौं । यसबाट आयोजना अगाडि बढेको छ या छैन, प्रस्ट हुन्छ । सर्तअनुसार अगाडि नबढेका आयोजनाको सम्बन्धित क्षेत्रमै पुगेर पनि हामीले अध्ययन गरेका छौँ।

अध्ययनको क्रममा प्रगति नभएका आयोजनाको पनि हामीले लाइसेन्स खारेज गरेका छौं,’ रिजालले भनिन्। उनले आयोजनाको निरन्तर अध्ययन हुँदा लाइसेन्स होल्ड गर्ने प्रवृत्ति बिस्तारै घटेको बताइन्।

२०७१ सालमा धेरै आयोजनाको लाइसेन्स रद्द गरिएको थियो। त्यसयता चार वर्षसम्म अनुमति पत्र रद्द हुने संख्या निकै घटे पनि फेरि यो वर्षको हालसम्म २६ वटा आयोजनाको अनुमतिपत्र खारेज भइसकेको छ। लाइसेन्स रद्द हुनुको प्रमुख कारण प्रत्येक वर्ष नवीकरण नहुनु पनि हो।

विद्युत् उत्पादनको सर्वेक्षण अनुमति लिएका आयोजनाको नवीकरण शुल्क १–५ मेगावाटसम्म प्रतिवर्ष एकमुस्ट १० लाख, ५–१० मेगावाटसम्म प्रतिवर्ष २० लाख, १०–२५ मेगावाटसम्म प्रतिवर्ष ३० लाख, २५–१०० मेगावाटसम्म प्रतिवर्ष ४० लाख, १००–५०० मेगावाटसम्म प्रतिवर्ष ५० लाख र ५ सय मेगावाटसम्मका आयोजनाले प्रतिवर्ष ६० लाख नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .