ad ad

राजनीति


जाँदा जाँदै राष्ट्रियसभाका १८ सांसदले भनेः निर्वाचन प्रणाली बदलौं

जाँदा जाँदै राष्ट्रियसभाका १८ सांसदले भनेः निर्वाचन प्रणाली बदलौं

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ११:१८,

राष्ट्रियसभाबाट विदाई हुँदै गर्दा सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन्।

आफ्नो २ वर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्तव्य राख्दै उनीहरुले सरकारलाई थप जिम्मेवार बन्दै जनताको सवालमा खरो उत्रिन, भ्रष्टाचार न्यूनीकरण गरि शुसासन कायम गर्न तथा समग्र रुपमा जनताको सवाललाई आत्मसाथ गर्न आग्रह गरे।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेयले प्रविधिको प्रयोग, समयमा बैठक सञ्चालन गर्ने लगायत विभिन्न पक्षमा २ बर्षमा राष्ट्रियसभामा राम्रो अभ्यास गरिएको बताए। उनले राष्ट्रियसभा आफैँमा अधिकारको दृष्टिले केही संकुचन भएपनि श्रृजनात्मक र प्रभावकारी ढंगले दलीय आग्रह पुर्वाग्रहबाट मुक्त भएर काम भएको बताए। उनले राष्ट्रियसभा सदस्यको निर्वाचन प्रणालीका बारेमा भने थप छलफल आवश्यक रहेकाले सभाले आगामी दिनमा त्यसलाई छलफलको विषय बनाउन आग्रह गरे।

उनले भने, ‘कोही पुरै जित्दैन र कोही पुरै हार्दैन। मतभार र मतदाताको अनुपातमा सबैले जित्ने र सबैले हार्ने। अनुपातमा जित्ने। यो सिद्धान्त हामीले नियमावलिमा जुन किसिमले प्रतिबिम्बित गर्नुपथ्र्यो त्यो सकेनौं। जसका कारणले एकपटक एउटा क्लस्टरमा एकजनाको चुनाव हुने र बहुमतीय पद्धतिमा जाने। यो बहुमतीय पद्धतिले संविधानको मर्म अनुसारको उपस्थिति आगामी दिनमा नहुने हो कि यो छलफलको विषय बनाएर अगाडि जाओस् सभा।’
उनले सरकार संघीयताप्रति इमान्दार बन्न नसकेको उल्लेख गर्दे राष्ट्रियसभा सदस्यलाई पनि आफ्ना मतदाताप्रतिको जवाफदेही बनाउने गरि व्यवस्था गर्नुपर्ने बताए।

नेकपाका काली बहादुर मल्लले आफूले राष्ट्रियसभा सदस्य भएर २ वर्षको कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र ‘प्रमाणपत्र सहित एउटा योग्यता प्राप्त भएको’ अनुभव गरेको बताए। उनले भने, ‘महाविद्यालयको विद्यार्थी, मैले ज्ञान आर्जन गर्ने थुप्रै मौका मिल्यो र आज म एउटा शिक्षकको रुपमा रिर्टायड हुन खोजिरहेको छु। मलाई त्यो अनुभूति भईरहेको छ।’

पहिलो संसविधानको विघटनको समय स्मरण गर्दे उनले भने, ‘संविधानसभाको बैठक ११ बजे बोलाईएको थियो। राती १२ बजेसम्म हामी त्यही थियौं। एकैपटक मर्यादापालक साथीहरु आउनुभयो र माननीयज्यू तपाईहरुको म्याद सकियो भनेर राती १२ बजे चोर झैँ गरेर भाग्नु परेको थियो। काँक्रा चोर्न आएको हो कि जसरी कताबाट निस्कने भाग्ने जस्तो स्थिति थियो।’

नेपाली कांग्रेसकी राष्ट्रियसभाका लागि प्रमुख सचेतक सरिता प्रसाईले जनताको चाहाना र इच्छा अनुसार काम गर्न सरकारलाई आग्रह गरिन्। सिंगो शासन व्यवस्था प्रति निराशा नभई जनतालाई आशा जगाउने गरि काम गर्न शुभकामना दिइन्।

त्यसैगरी राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीले जनता निराश नहुने गरी राम्रोसँग सबै दलहरुलाई मिलेर मुलुक सञ्चालन गर्न आग्रह गरिन्।
त्यसैगरी राष्ट्रियसभा सदस्यहरु कमला कुमारी ओली, खेमराज नेपाली, धनकुमारी खतिवडा, बलराम बास्कोटा, मिना बुढा, मुक्ता कुमारी यादव, युटोल तामाङ, रमेश प्रसाद यादव, राजकुमार कुवँर, विन्दा देवी आले रानाले नि विदाईको क्षणमा आफ्ना अनुभवहरु राखेका थिए। उनीहरु आफूहरुले बैठकमा र विषयगत समितिमा बसेर जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको स्मरण गर्दै जनताको विषयलाई उठाउँदै राम्रो कानुन बनाउने सवालमा जिम्मेवार ढंगले भुमिका निर्वाह गर्न सुझाव दिए।

मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६ , राजपाका २, समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन्। राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल पनि मंगलबार देखि नै सकिदै छ। विदा हुनेहरुमा नेकपाका सांसदहरु हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन्।

त्यसैगरी नेपाली कांग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँ सहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ता कुमारी यादव, धनकुमारी खतिवडाको कार्यकाल सकिदैछ। दुई वर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भईसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .