राजनीति


नेपालमा समाज बिथोल्ने कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री

नेपालमा समाज बिथोल्ने कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री

नेपालखबर
साउन २९, २०८१ मंगलबार २२:७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नरहेको बताएका छन्।

मंगलबार महान्यायाधिवक्ताको कार्यालय अवलोकनपछि उनले सरकारबाट देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक कुनै काम नहुने भएकाले त्यसप्रकारको आन्दोलन सम्भव नभएको बताएका हुन्।

सरकारी वकिलहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने बाटोमा अग्रसर भएको उल्लेख पनि गरे।

‘नेपाली समाज कानुनअनुसार चल्छ, यहाँ सामाजिक विशृंखलताका कुनै आन्दोलनको गुञ्जायस छैन,’ उनले भने, ‘कसैले रिस शान्त पार्नका लागि सामाजिक सञ्जालमा गाली गर्न सक्छ तर त्योभन्दा बढी केही हुँदैन।’

आफू फोटो टाँस्न मात्रै प्रधानमन्त्री नभएको उल्लेख गर्दै उनले यस कार्यकालमा पनि विगतमा झैँ समाजका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्ने दाबी पनि उनले गरे।

न्याय क्षेत्रको प्रभावकारी विकासका लागि राज्यको स्रोत साधनले भ्याएसम्म पूर्वाधार विकासलाई निरन्तरता दिइने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुंग्याउनका लागि भएको राजनीतिक सहमति शान्ति प्रक्रियाको अन्तिम किस्ता भएको बताए। यसबारे राष्ट्र संघका नेपालस्थित प्रतिनिधि र विभिन्न राजदूतहरूको चासो रहेको उल्लेख गर्दै उनले पीडितकेन्द्रित विषयलाई ध्यानमा राखेर ती कानुन संसदको यही अधिवेशनबाट पारित हुने जानकारी पनि दिए।

शान्ति प्रक्रियाका धेरै कुरामा विदेशीको नक्कल नगरेको र विगतमा आफू प्रधानमन्त्री हुँदा वार्ताका माध्यमबाट नेत्रविक्रम चन्द विप्लव र सीके राउत समूहलाई मूल प्रवाहमा ल्याएको पनि उनले स्मरण गरे।

प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै कर्मचारीको तलब समायोजनका विषयमा छलफल भइरहेको पनि जानकारी दिए।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले मुद्दाको छिटो र प्रभावकारी अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशाला आफूहरूसँग हुनुपर्ने र लयर्स एकेडेमी स्थापनालगायतका कानुन छिटो पारित गर्न सुझाव प्रधानमन्त्रीलाई दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad