राजनीति


पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

नेपालखबर
साउन २८, २०८१ सोमबार १६:५१, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन्।
    
मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विषयगत मन्त्रालयको पुँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताए। 

‘जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना कम हुन्छ,’ उनले भने, ‘यो वर्ष हामीले खर्च गर्ने सामर्थ्य बढाउँछौँ।’

उनले विकासका अवरोधका रुपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गरे। 

आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नुले पनि कार्यप्रगतिमा अवरोध भएको उनको भनाइ थियो। सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालयअन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग मन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए। 

राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्रलगायत संस्थानका आफ्नै चलअचल सम्पत्तिको संरक्षण र परिचालन गर्न उनले निर्देशन दिए। ‘हामीले हाम्रै सम्पत्तिको संरक्षण र परिचालन गर्न नसकिरहेको अवस्था छ’, उनले भने, ‘चलअचल सम्पत्तिको भरपुर सदुपयोग गरेर राजस्व बढाउनेतर्फ ध्यान दिउँ।’

उनले राष्ट्र गौरवका योजनाहरुमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटेलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ पनि हुनुपर्ने जिकिर गरे। मन्त्रालयले यिनै मुख्य तीन विषयलाई समेटेर ‘हिरो मिसन’ का रुपमा लिएको जानकारी दिए।

मन्त्रालयले डिजिटल नेपाल बनाउने, स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र आफ्नै बनाउने उनले बताए। ‘अबको विकास सूचना प्रविधिको हो’, उनले भने, ‘हामीले यी विषयलाई हिरो मिसन मानेका छौँ।’ 

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले समस्यामा अल्झिएर नभई समाधानसहितको बैठक बस्न आवश्यक रहेको बताए।

उनले प्रविधि र रोजगारका विकासको सन्दर्भमा मन्त्रालयसँग आयोगले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा मन्त्रालयले हालम्म गरेका नीतिगत तथा कानुनी सुधारसहित प्रविधिमा भएका उपलब्धिबारे समीक्षा गरिएको थियो। 

आमसञ्चारअन्तर्गतको उपलब्धिहरुमा राष्ट्रिय समाचार समिति (रासस) ले अवधि भाषामा समाचर सेवा प्रारम्भ गरेको, एफटिपीमार्फत राससको श्रव्यदृश्य (भिडिओ) सेवा सम्प्रेषण सुरु भएको, रासस र कतार न्युज एजेन्सी (क्युएनए) बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको मन्त्रालयले उल्लेख गरेको थियो। 

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको डिजिटल दशक बनाउने लक्ष्य पूरा गर्न सबै कर्मचारीबीच सहकार्यको अपेक्षा रहेको बताइन्।

कार्यक्रममा मन्त्रालयअन्तर्गतका निकाय, विभागीय प्रतिनिधि र सरोकारवाला मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad