ad ad

राजनीति


विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छः प्रधानमन्त्री

विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छः प्रधानमन्त्री

नेपालखबर
साउन २७, २०८१ आइतबार ७:३०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन्।

ठँहिठीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 

‘अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया  र परोपकारभाव आवश्यक भएकाले बुद्धका शिक्षाहरु थप सामयिक भएको छ,’ उनले भने, ‘खराबी उन्माद, आक्रोस र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवनीयता र आत्मियभाव देखाउन सके विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने छ।’

विश्वमा मानवीय उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति मच्चिएको उनले बताए। 

‘आफ्नो जिद्धीका लागि निर्दोष मान्छेमाथि पनि कस्ले कतिबेला कहाँ सशस्त्र हतियार प्रहार र प्रतिप्रहार गर्ने हो भन्ने खालको भय पैदा भएको छ,’ उनले भने, ‘त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ।’  

परस्पर बेमेल र अशान्ति गर्ने प्रवृत्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने ओलीले बताए। 

कार्यक्रममा बिहारका प्रमुख धम्मवती गुरुमाँले प्रधानमन्त्री ओलीलाई आरोग्यसहित नेपाललाई राम्रो बाटोमा लान आग्रह गरे। 

कार्यक्रममा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता ढंगोल सहभागी थिए। प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .