राजनीति


सातै प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’, सुझाव संकलन गरेर केन्द्रीय समिति बोलाइने

सातै प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’, सुझाव संकलन गरेर केन्द्रीय समिति बोलाइने

नेपालखबर
साउन २६, २०८१ शनिबार २१:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातैवटा प्रदेशहरूमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ। काठमाडौँमा अघिल्लो साता केन्द्रीय तहका नेताहरू सहभागी भएर पार्टी कार्यालयमा दुई दिन ‘क्लोज क्याम्प’ आयोजना गरेको रास्वपाले शनिबार सबै प्रदेशमा यसको अभ्यास गरेको हो। 

पार्टी सभापति रवि लामिछानेका अनुसार, सबै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा ‘क्लोज क्याम्प’ सकिएको छ। लामिछानेले ‘क्लोज क्याम्प’ बारे जानकारी गराउँदै पार्टी परिपक्व हुने चरणमा रहेको, लय पक्रंदैगर्दा अहिलेसम्मको २ वर्षमा जानेर भन्दा जानेको गरेको सामाजिक सञ्जालमार्फत बताएका छन्। 

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, सबै प्रदेशबाट रिपोर्टहरू बुझ्ने क्रम भइरहेको छ। ‘अत्यन्तै उत्साहपूर्वक सहभागीता भएको छ। सातैवटा प्रदेशबाट रिपोर्ट लिएर केन्द्रीय समिति बैठकमा छलफल गर्छौँ,’ उनले भने।

लामिछानेले प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा छलफलका लागि लगिने बताएका छन्।

 

सबै प्रदेशका रिपोर्ट हेरेर पार्टीको केन्द्रीय समिति बैठक भदौ पहिलो सातासम्म बोलाउने तयारी छ। ‘केन्द्रीय समिति बैठकमै छलफलबाट आएका सुझावबारे छलफल हुन्छ,’ बुर्लाकोटीले भने।

जिल्ला र प्रदेशको अधिवेशन, महाधिवेशन, वडा तहबाटै संगठन निर्माणको थालनी, स्थानीय सरकारलाई जनउत्तरदायी बनाउने लगायतका विषयमा सुझावहरू संकलन भइरहेको बुर्लाकोटीको भनाइ छ।

सबै प्रदेशमा ६ समूहमा विषयगत समिति बनाएर छलफल भएको थियो। 

प्रदेशस्तरीय ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन्।

उनीहरूलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन्।

विधान संशोधनबारे पनि छलफल भएको क्याम्पका सहभागीलाई सभापति लामिछानेले भिडिओमार्फत सम्बोधन गरेका थिए।

रास्वपाले सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र बिनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरीलाई पठाएको छ।

बागमतीको ‘क्लोज क्याम्प’ हिजो सकियो भने कोसी प्रदेशको आज भएको छ। कोसीमा सचेतक निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन्।

तस्बिरहरू : पार्टी सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad