राजनीति


कोरोनाका कारण होली नमनाउन सरकारको आग्रह

कोरोनाका कारण होली नमनाउन सरकारको आग्रह

नेपालखबर
फागुन १९, २०७६ सोमबार १४:३१,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस वर्षको होली नमनाउन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको रोकथामका लागि भरसक भीड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेका हुन्।

‘भीडभाड हुने गरी कुनै काम नगरौं। सकभर भीड हुने कामबाट बचौं। यसपटक होली नमनाऔं,’ ज्ञवालीले भने, ‘विवाहको विषयलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाऔं।’

ज्ञवालीले अहिलेसम्म नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै नेपाललाई संक्रमणबाट जोगाउनका लागि सरकारले विभिन्न कदम चालेको बताए। यस वर्षको होली फागुन २६ र २७ गते परेको छ।

कोरोनाबाट प्रभावित पाँच वटा देशका पर्यटकलाई जारी गरेको अन एराइभल भिसा रोक्का गरिएको र अत्यावश्यक बाहेक भ्रमण विदेश भ्रमणमा नजान ट्राभल एड्भाइजरी जारी गरेको उनले बताए।

‘हामीले कोरोना प्रभावित देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) जारी गर्न रोकेका छौं,’ ज्ञवालीले भने, ‘अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न ट्राभल एड्भाइजरी समेत जारी गरेका छौं।’

नेपाल प्रवेश नाकामा कडाइ गरेको र यात्रीले मेडिकल रिपोर्ट अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको ज्ञवालीले जानकारी दिए। सरकारले कोरोना भाइरसको रोकथामका लागि तीन तहका समन्वय गर्न संयन्त्र स्थापना गरिएको पनि उनले बताए।

उप प्रधानमन्त्री ईश्वर पोखरेलका नेतृत्वमा मन्त्रीहरु सम्मिलित कारोना भाइरस रोकथाम समन्वय समिति, मुख्य सचिवको नेतृत्वमा स्टेरिङ कमिटी र प्रधामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीको संयोजकत्वम वर्किङ टिमले काम गरिरहेको बताए।

‘अहिले मात्रै कोरोना नियन्त्रणको प्रयास भएको होइन पहिलेदेखि नै हो,’ ज्ञवालीले भने, ‘खरिपाटीमा क्वारेन्टाइनको व्यवस्था गरेका छौं। त्यसलाई निरन्तर रुपमा सञ्चालन गर्ने छौं।’
अर्थतन्त्रमा कोरोना भाइरसले पार्ने प्रभावको बारेमा समेत अर्थ मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad