ad ad

राजनीति


वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा आएन

वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा आएन

नेपालखबर
फागुन १८, २०७६ आइतबार १४:५०,

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने विषयमा आइतबारको मन्त्रिपरिषदको बैठकमा छलफल भएन।

बैठकमा त्यससम्बन्धी कुनै प्रस्ताव नआएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

गत बुधबार बसेको नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सरकारलाई आग्रह गरेको थियो।

तर, त्यसका केही घण्टापछि आफ्नै अध्यक्षतामा भएको बैठकको निर्णय विपरीत प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने अडान राखेका थिए।

दुई वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका गौतमले यसअघि राष्ट्रियसभामा सदस्य बन्न अस्वीकार गरेका थिए। गौतमले राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्ने सर्तमा मात्रै आफू राष्ट्रियसभामा जाने अडान राखेका थिए।

गौतमको माग पूरा गर्न गत शनिबार भएको सचिवालयको बैठकले माधवकुमार नेपालको नेतृत्वमा एउटा कार्यदल गठन गरेको सार्वजनिक भएको थियो। तर, व्यक्तिलाई हेरेर संविधान संशोधन गर्न नहुने भन्दै पार्टी पंक्तिभित्रै चर्को विरोध भएपछि सो कार्यदललाई निष्क्रिय पारिएको थियो।

जसले सत्तारुढ दल नेकपाभित्र ठूलो विवादको रुप लिएको थियो। विवाद बढ्दै गर्दा माधवकुमार नेपालले मध्यमार्गी प्रस्ताव अघि सारेका थिए।

नेपालले अर्थमन्त्रीको रुपमा खतिवडालाई निरन्तरता दिने र गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने कोटाबाट सांसद बनाउने प्रस्ताव गरेको थियो। खतिवडाको राष्ट्रियसभाको कार्यकाल माघ २० गते समाप्त हुँदैछ। तर, सांसद नभएपनि खतिवडा ६ महिना मन्त्री हुन पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .