ad ad

राजनीति


एमालेभित्र पनि ठूलो पंक्ति एकताकै पक्षमा छ, एकपटक असफल हुँदैमा जमर्को छाड्दैनौँ : प्रचण्ड

एमालेभित्र पनि ठूलो पंक्ति एकताकै पक्षमा छ, एकपटक असफल हुँदैमा जमर्को छाड्दैनौँ : प्रचण्ड

नेपालखबर
साउन १२, २०८१ शनिबार १५:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक असफल हुँदैमा नेपालका कम्युनिस्ट पार्टीहरू एक हुने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन्। 

शनिबार काठमाडौँमा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘एकचोटी असफल भयो भन्दैमा हामीले फेरि नेपालको समाजवादको आधार बनाउनका लागि उद्देश्य फेर्ने भन्ने हुन सक्दैन। मैले पछिल्लोचोटि पनि एकताबद्ध बनाउने आधारमा नै जमर्को गरेकै हो। अहिले त्यहाँ केके भयो भन्ने धेरै भन्न चाहन्नँ,’ प्रचण्डले भने। 

साथै, उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको सन्देशलाई जनताले नै स्वीकार गरे पनि जोगाउन नसकिएको तथ्य प्रस्तुत गरे। 

‘पार्टीभित्रबाट र आम जनताबाट पनि राम्रो अनुमोदन प्राप्त भयो। झण्डै दुई तिहाई प्राप्त गरेका थियौँ। एकताको सन्देशलाई जनताले सहर्ष स्वीकार गरेर अनुमोदन गर्दा नजिक पुगेका थियौँ। तर त्यसलाई बचाउन सकिएन,’ अध्यक्ष प्रचण्डले भने। 

उनले नेकपा एमालेभित्र पनि ठूलो पंक्ति एकताकै पक्षमा रहेको जिकिर गरे। 

‘नेकपा एमालेभित्र पनि ठूलो देशभक्त पंक्ति अझै छ, कम्युनिस्ट आन्दोलनमा त्याग गरेको पंक्ति अहिले पनि छ। म ती सबै साथीहरूलाई अपिल गर्न चाहन्छु,’ उनले भने, ‘एकताबद्ध गर्ने पटकपटकको प्रयासलाई कुन त्यो शक्तिले सफल हुन दिएको छैन, त्यो सोच्नुपर्नेछ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दलाल पुँजीपतिको सेटिङमा आफू आत्मसमर्पित हुन नसकेपछि सत्ता छाडेको दाबी गरे। 

‘म भर्खरै सरकारबाट बाहिर आउँदै गर्दा दलाल पुँजीपतिको सेटिङको अगाडि आत्मसमर्पण गर्न नसकेकै परिणाम आजको राजनीतिक परिस्थिति हो,’ प्रचण्डले अघि भने, ‘दलाल पुँजीवादविरुद्धको संघर्ष हामी सबैले विचार गर्नुपर्ने सघंर्षभित्र पर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .