ad ad

राजनीति


प्रचण्डको दाबी– विजेता बनेर सरकारबाट बाहिरियौँ

प्रचण्डको दाबी– विजेता बनेर सरकारबाट बाहिरियौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ११औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
साउन ९, २०८१ बुधबार ११:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको दाबी गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृतिमा बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सभामा उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढंगले सरकार परिवर्तन भएको आरोप पनि लगाए। 

‘मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो। स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो। सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम भएनन्’, पूर्वप्रधानमन्त्री प्रचण्डले भने। 

सरकारबाट देश र जनताका पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको दाबी उनले गरे। 

‘राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, सङ्गठन सुदृढ  गर्ने अवसर प्राप्त भएको छ’, उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ।’

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्न सक्ने बताए।

‘माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्छ, माओवादीलाई रुपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिन्छ’, उनले भने। 

माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उनले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताए।

‘यद्यपि, अहिलेको कार्यभार पूरा गर्न सरकारको भूमिका महत्त्वपूर्ण रहन्थ्यो, सङ्घ र प्रदेश सरकारमा नरहेसँगै संसद्‌मा मुख्य भूमिका रहन्छ। जनतालाई एकताबद्ध गरेर अघि बढ्नुपर्छ’, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने। 

राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा तथा प्राप्त उपलब्धिलाई सृदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक आर्थिक रुपान्तरण प्रक्रिया तीव्र बनाएर आर्थिक समृद्धि हासिल गर्दै समाजवादको आधार तयार गर्नुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .