सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन्।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताए।
सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्याउन पनि सरकारलाई सचेत गराए।
सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्व विहीनजस्तो अवस्थामा रहेको भन्दै चिन्ता पनि व्यक्त गरे।
उनले भने, ‘अहिले शिक्षा विधेयक आएको छ। त्यो शिक्षा विधेयकलाई हामीले कुनैपनि नेतृत्व इच्छाशक्तिको भएन भने, कुनै नेतृत्व दृढ भएन भने, कुनै नेतृत्वले आफनो संस्थालाई परिवार सम्झेन भने कुनैपनि ठाउँ, कुनै पनि देश अगाडि बढ्न सक्दैन। त्यसकारण विद्यालयका हेडमास्टरहरुलाई शिक्षक सेवा आयोगबाट ल्याउने व्यवस्था गर्यो भने त्यो हेडमास्टरबाट, त्यो नेताबाट शिक्षा क्षेत्र अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्छ।’
‘आज विश्वविद्यालय नेताविहीन जस्तो छ। त्यहाँको प्रोफेसर, जसले अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा काम गर्नसक्छ, उसलाई नेतृत्व दिएमात्रै विश्वविद्यालय चलाउन सक्छ’ सांसद भण्डारीले थपे।
Shares
प्रतिक्रिया