ad ad

राजनीति


किर्ते आरोपी सांसद सुनील शर्मालाई सरकारी वकिलले यी ४ आधारमा दियो उन्मुक्ति

किर्ते आरोपी सांसद सुनील शर्मालाई सरकारी वकिलले यी ४ आधारमा दियो उन्मुक्ति

नेपालखबर
साउन ७, २०८१ सोमबार १८:९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद एवं मेडिकल कलेजहरूका सञ्चालक डा सुनील शर्माको प्रमाणपत्र विवादमा मुद्दा नचल्ने भएको छ।

सांसद शर्माविरुद्ध मुद्दा नचलाउने गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले साउन २ गते गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालयले पनि सदर गरिसकेको छ। अब महान्यायाधिवक्ताको कार्यालयले सदर गरेपछि फाइल बन्द हुनेछ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार, यी चार आधारमा शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको हो–

१. हदम्याद
डा शर्मालाई ०७३ सालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘अपरेसन क्वाक’ सञ्चालन गरी अनुसन्धानको दायरामा तानेको थियो। त्यतिखेर सीआईबी प्रमुख नवराज सिलवाल थिए। अनुसन्धान गर्ने निकायले थाहा पाएको ८ वर्षसम्म मुद्दा नचलाई ढिलो गरी अहिले मुद्दा अघि बढाउनु हदम्यादबाहिर रहेको सरकारी वकिलको ठहर छ। एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्नेमा ८ वर्ष ढिला गरी ल्याएकोले मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।

२. असफल अपरेसन क्वाक 

यस्तै सीआईबीले अपरेसन क्वाकअन्तर्गत अनुसन्धान गरेकामध्ये धेरैमा अदालतले सफाइ दिएको आधार पनि सरकारी वकिलले लिएको छ। 

३. सरकारी कागज होइन
डा शर्माको नक्कली भनिएको प्रमाणपत्र विदेशी विश्वविद्यालयको रहेको र उक्त कागजात सरकारी लिखत नरहेकोले पनि मुद्दा नचल्ने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ।

४. अख्तियारको अनुसन्धान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसअघि डा शर्मालाई नियन्त्रणमा लिई हिरासतमा राखेको पाइएको छ। लोकमानसिंह कार्कीका पालामा उनी अनुसन्धानमा तानिएका थिए। पछि लोकमानसिंह कार्की महाभियोग प्रस्तावका कारण निलम्बित भए र सर्वोच्च अदालतले अयोग्य ठहर गरी पदमुक्त नै गरिदियो। त्यतिखेर उनले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएकाले प्रतिशोधपूर्ण अनुसन्धान गरिएको भनी उन्मुक्ति लिएका थिए। 

‘एउटै विषयमा राज्यका फरकफरक निकायले अनुसन्धान गरेको, कुनै व्यक्तिलाई मन लाग्दा विषय उठाएको र मन नलाग्दा रोकेको पाइएकाले पनि यो मुद्दा अगाडि बढ्ने देखिएन,’ सरकारी वकिल कार्यालयका ती अधिकारीले भने।

शर्माले एमबीबीएस पढ्न चीनको विद्यालयमा पेस गरेको प्रवीणता प्रमाण पत्र तह (आईएससी) को प्रमाणपत्र नै नक्कली रहेको भन्दै सीआईबीले अघिल्लो वर्ष साउन २५ गते उनलाई पक्राउ गरेको थियो। 

शर्मासहितका केही चिकित्सकले भारतीय नक्कली प्रमाण पत्रहरू पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता गरिएको भन्दै सीआईबीले अपरेसन क्वाक चलाएको थियो। त्यसै क्रममा उनीसहित केही चिकित्सक पक्राउ परेका थिए। 

पक्राउ परेको भोलिपल्टै शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .