ad ad

राजनीति


विदेशमा भ्रमण वर्षको प्रचार–प्रसार कार्यक्रम स्थगित, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

विदेशमा भ्रमण वर्षको प्रचार–प्रसार कार्यक्रम स्थगित, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

नेपालखबर
फागुन १७, २०७६ शनिबार १०:४२,

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचार–प्रसारका कार्यक्रम स्थगित गरिएको छ।

कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचार–प्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

पर्यटन प्रवद्र्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रमपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार–प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम सरकार केन्द्रीत भएको बताए। परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडी बढाउने तयारी मन्त्रालयले गरेको उनले बताए।

कोरोनाका कारण नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको उनले बताए। विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझाबलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने कार्यक्रम स्थगित गरिएको उनले भनाइ थियो। ‘अब विदेशमा हुने पर्यटन प्रचार–प्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवद्र्धनको काममा बढी केन्द्रीत हुन्छौँ’, उनले भने, ‘आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडि बढाउँछौँ। जब परिस्थिति अनुकूल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन् त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमण वर्षको प्रवद्र्धनात्मक काममा अगाडि बढ्छौँ।’

कोरोनाले विश्वका शक्ति राष्ट्रहरुको व्यापार व्यवसाय, उद्योगधन्दामा पनि असर गरेको उनले बताए।

भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचार–प्रसारका कामहरु अगाडि बढे पनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखापरेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो। वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकहरको संख्यामा कमी आएको थियो।

नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमानाकाहरुमा सरकारले कडाइ गरेको छ। मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताए।

सरकारले २ हप्ताअघि चीनको प्रभावित क्षेत्र वुहानबाट १७५ जना नेपाली विद्यार्थीहरुलाई उद्धार गरी स्वदेश ल्याएको थियो। उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन्। शनिबार (आज) खरिपाटी र नगरकोट क्वारेन्टाइनमा राखिएका १९३ जनाको थ्रोट स्वावको नमुना परीक्षणका लागि संकलन गरिएको छ। रिपोर्ट नेगेटिभ देखिएमा सबैलाई क्वारेन्टाइनबाट निकालिनेछ।

कोरोना प्रभावित मुलुकहरुमा पर्यटन आवतजावतमा मात्रै नभएर व्यापार व्यवसाय, औषधि उत्पादन, कच्चा पदार्थ आयात निर्यातमा पनि असर गरेको छ। कतिपय ठाउँमा हप्तौँदेखि विद्यालयहरु समेत बन्द रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .