ad ad

राजनीति


बल्ल दृश्यमा आइन् पर्दापछाडिकी खेलाडी आरजु राणा

पहिलो दिन भनिन्—अब पिलर खोज्नु पर्दैन, जीपीएस र स्याटेलाइटबाट सीमा समस्या समाधान हुन्छ
बल्ल दृश्यमा आइन् पर्दापछाडिकी खेलाडी आरजु राणा

रामकुमार डिसी
असार ३१, २०८१ सोमबार २१:४३, काठमाडौँ

केही नभन्नु, नबोल्नुलाई पनि कूटनीतिको आधा कला मानिन्छ। 

अमेरिकी इतिहासकार तथा दार्शनिक विलियम ज्याम्स डुरान्टले फुराएको यो उक्ति बदलिएको अहिलेको कूटनीतिमा पनि सान्दर्भिक मानिन्छ। 

अझ नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको देशका कूटनीतिज्ञ/राजनीतिज्ञले कूटनीतिक मामिलामा बोल्दा निकै होस पुर्‍याउनुपर्छ। यस्तै संवेदनशील मामिलामा ‘डिल’ गर्ने परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेकी छिन्, नेपाली कांग्रेसकी नेता आरजु राणा देउवा।

तर, उनको स्वभाव भने अलि भिन्दै खालको छ। आफूलाई लागेको विचार उनी खुल्लारुपमा राख्छिन्। आफ्नो यही शैलीका कारण कतिपय बेला उनले आलोचना खेप्नु परेको छ।

त्यसको एउटा सन्दर्भ उनले २०७९ को स्थानीय तहमा दिएको अभिव्यक्ति हो। चुनाव प्रचारका बेला डडेलधुरा पुगेकी राणाले आफ्नो पार्टीका मेयर नहुने पालिकामा पैसा नै नपठाउने चेतावनी र प्रत्येक वडाका ५–६ युवालाई ‘फ्रि टिकट, भिजा’ मा मलेसिया पठाइदिने लोभ देखाएकी थिइन्। चुनावताका दिएको उनको त्यस्तो अभिव्यक्तिको खुब आलोचना भयो। आफ्नै बोलीको बचाउमा उनले स्पष्टीकरण दिनुपर्‍यो।

उनले संसद र संसदीय समितिमा दिएका त्यस्तै खाले अनेकौं अभिव्यक्ति र विचारको चर्चा र आलोचना समेत हुने गरेको छ। ध्यान नै नपुर्‍याई, हौसिएर बोल्ने गरेको भन्दै उनको आलोचना हुने गरेको छ। 

पहिलो पटक मन्त्री, परराष्ट्रको जिम्मा
प्रधानमन्त्री पत्नीका रुपमा पहिलेदेखि नै कांग्रेस राजनीतिमा प्रभाव राख्ने राणा नेपाली कांग्रेसको १४ औं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। तर, उनले त्यसअघि नै संसदीय राजनीतिको अनुभव बटुल्न थालीसकेकी हुन्।

संविधानसभा सदस्य समेत गरेर तेस्रो कार्यकाल प्रतिनिधिसभामा रहेकी राणाले मन्त्री पहिलो पटक बन्ने अबसर पाएकी हुन्। पहिलो पटक मन्त्री बन्दा नै उनले परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालयको भूमिका पाएकी छिन्।

राणाले मन्त्री पहिलो पटक भएको भए पनि प्रधानमन्त्री पत्नीका रुपमा आफ्नो अनुभव परराष्ट्र मन्त्रालयबारे रहेको जिकिर गरेकी छिन्।

‘मन्त्री पहिलो पटक हो, तर, एउटा उच्च तहको नेताको श्रीमतिका रुपमा मेरो तीस वर्ष भइसक्यो,’ मन्त्रालयको कार्यभार सम्हाल्दै उनले भनिन्, ‘हिजो मात्रै हामीले ३० औं बैवाहिक वार्षिक उत्सव मनायौं। प्रधानमन्त्री भएपछि त परराष्ट्र पनि नजिकबाट हेरिन्छ। त्यसमा मैले धेरै अनुभव हासिल गरेकी छु।’

त्यसो त धेरैले उनलाई राजनीतिमा पर्दा पछाडिकी खेलाडी नै मान्छन्, जो श्रीमान शेरबहादुर देउवासँगै राजनीतिको शक्ति अभ्यासमा जोडिँदै आइन्। 

‘आरजु राणा शासनसत्तामा नयाँ होइनन्,’ पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन्, ‘पहिला पर्दापछाडि रहेर चलाउँथिन्, अब दृश्यमा आइन्।’

विदेशी दूतावासमा काम गरेको अनुभव समेत आफूसँग भएकाले विदेशमा रहने नेपालीका लागि मन्त्रालयबाट हुने सेवा प्रभावमा राम्रो काम गर्न सकिने उनको विश्वास छ।

‘मैले पैले क्यानडाको दूतावासमा काम गरेकी थिएँ,’ उनले सुनाइन, ‘उनीहरूले आफ्नो नागरिकलाई कस्तो सहयोग गथ्र्यो भनेर मलाई थाहा छ।’

एमालेसँग कसरी मिलाउँछिन् विदेशनीति?
हाम्रा दुई छिमेकी (भारत र चीन)सँग सन्तुलित ‘डिल’ गर्नु नै परराष्ट्रमन्त्री राणाको मुख्य चुनौती हुनेछ। कूटनीतिक मामिला विश्लेषक चन्द्रदेव भट्ट पनि दुवै छिमेकीसँग विश्वासको संकट भएको भन्दै त्यसलाई कम गर्ने नै राणाको लागि चुनौती हुने बताउँछन्।

‘सबै भन्दा ठूलो च्यालेन्ज, हाम्रो दुईटै छिमेकी देशसँग जुन विश्वासको संकट छ, त्यसलाई कम कसरी गर्ने भन्ने हो,’ उनले नेपालखबरसँग भने।

भट्टले देखेको अर्को चुनौती हो, चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयन।

‘चीनसँग हामीले बीआरआई सम्झौता गरेका छौं, तर त्यससम्बन्धी कार्यान्वयन योजना अगाडि बढेको छैन,’ उनले भने, ‘त्यसले गर्दा चीन पनि हामीसँग असन्तुष्ट होला। चीन हाम्रो लागि महत्वपूर्ण छिमेकी हो।’

बीआरआईलाई लिएर सत्ता संचालनका लागि संगै आएका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मतभेद छ। नेपाली कांग्रेस बीआरआईमा अनुदान मात्रै लिनुपर्ने अडानमा छ भने एमाले अनुदान, सस्तो दरको ऋण र चिनियाँ लगानी समेत स्वीकार गर्नेगरि त्यसलाई अगाडि बढाउनुपर्ने मत राख्छ।

दुवै दलबीच साझा धारणा बनाएर त्यसलाई अगाडि बढाउनु परराष्ट्रमन्त्री राणाका लागि असम्भव काम होइन, तर कठिन भने अवश्य छ।

कूटनीतिलाई अर्थतन्त्रसँग कसरी जोड्ने भन्ने अर्को चुनौती रहेको भट्टको भनाइ छ।

‘आर्थिक कूटनीतिमा हामीले कसरी काम गर्न सक्छौं? कसरी हामीले विदेशी लगानी नेपालमा बढाउन सक्छौं? पुँजी कसरी ल्याउन सक्छौं?,’ उनी भन्छन्, ‘हामीलाई पुँजीको आवश्यकता छ। रोजगारी सिर्जना गर्न हामीलाई पुँजी चाहिन्छ। बेरोजगारी बढ्दै गइरहेको छ। मान्छेहरू देश छोड्दै गइरहेका छन्।’

सोमबार परराष्ट्र मन्त्रालयमा पदभारग्रहण गर्दै गर्दा राणाले यी विषयलाई पनि छोएकी थिइन्।

‘आर्थिक कूटनीति प्रथम पटक मेरो श्रीमान (शेरबहादुर देउवा) प्रधानमन्त्री हुँदा सुरु भएको थियो,’ उनको भनाइ थियो, ‘हामीले अहिले ठूलो–ठूलो लगानी जलविद्युतमा देखेका छौं, त्यही बेलाको गृहकार्यबाट हामी यहाँ पुगेका छौं।’ 

नेपालका लागि चुनौतीका रुपमा रहेको भारतसँगको सीमा विवाद व्यवस्थापनबारे पनि राणाले विचार राखेकी थिइन्। तथ्यमा टेकेर त्यसलाई समाधान गर्न सकिने उनको विश्वास छ।

देउवाले भनिन्, ‘पहिले भन्दा अहिले हामीसँग धेरै सूचना छ। अहिले जीपीएस छ। स्याटेलाइट छ। मलाइ लाग्छ पहिले जस्तो यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गरिरहनु पर्दैन। तथ्यका आधारमा सीमा समस्या समाधान हुनेछ।’

दुई महिलाको कमाण्ड
राणा परराष्ट्रमन्त्री बनेसँगै मन्त्रालयको कमाण्ड दुई महिलाको काँधमा आइपुगेको छ। परराष्ट्र मन्त्रालयकी सचिव पनि महिला नै छिन्। सेवा लम्साल नेपालको पहिलो पररराष्ट्र सचिव समेत हुन्।

मन्त्रालयमा राणालाई स्वागत गर्दै सचिव लम्सालले मन्त्री र सचिव दुवै महिला हुनु परराष्ट्र मन्त्रालयका लागि ऐतिहासिक संयोग हुन गएको टिप्पणी गरेकी थिइन्।

‘म आफैं पनि सचिवका रुपमा यहाँ काम गरिहेकी छु,’ उनको भनाइ थियो, ‘त्यो हिसाबले महिला मन्त्री र महिला परराष्ट्र सचिवले नेतृत्व गरेको यो ऐतिहासिक संयोग हुन गएको छ।’

मन्त्रीका रुपमा राणा दक्ष व्यक्ति रहेको भन्दै सचिव लम्सालले आफूले लामो समयदेखि सँगै काम गरेको सुनाएकी थिइन्।

‘उहाँ अत्यन्त अनुभवी हुनुहुन्छ,’ उनको भनाइ थियो, ‘मेरो त २०५५/२०५६ सालदेखिको उहाँसँग सहकार्य हो। विभिन्न हिसाबले मैले उहाँसँग काम गरेकी छु।’

२०१८ माघ १३ गते काठमाडौँको प्रभावशाली राणा परिवारमा जन्मेकी आरजुले मनोविज्ञान विषयमा विद्यावारीधि गरेकी छिन्। राजनीतिमा आउनुअघि उनले महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा सक्रिय भएर काम गरेकी थिइन्।

दक्षिण तथा पूर्वी एसियाका लागि आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा उनले दुई कार्यकाल काम गरेकी थिइन्। सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा पनि उनले काम गरेकी थिइन्।

सन् १९९२ मा उनकै नेतृत्वमा ‘साथी’ नामको गैरसरकारी संस्था स्थापना भएको थियो। त्यसले महिला हिंसाविरोधी अभियान संचालन गर्दथ्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .