ad ad

राजनीति


प्रधानमन्त्री ओली भन्छन्– ईपीजी बुझ्न हामी फुर्सदमै छौँ, भारतले भ्याएको छैन

प्रधानमन्त्री ओली भन्छन्– ईपीजी बुझ्न हामी फुर्सदमै छौँ, भारतले भ्याएको छैन

नेपालखबर
भदौ २२, २०८१ शनिबार १९:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारतसम्बन्धी प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफैँ रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाई थियो।

साथै, प्रधानमन्त्री ओलीले नेपालका प्रधानमन्त्री (आफू) ले पुस्तक विमोचन गर्दै हिँड्न भ्याउँदा पनि भारतीय प्रधानमन्त्री मोदीले ईपीजी बुझ्न नभ्याएको गुनासो कार्यक्रममा गरे।

शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को विमोचन कार्यक्रममा बोल्दै उनले ईपीजी बनाउनेहरू नै दुवै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताए। 

‘२ वर्ष लगाएर उहाँहरूले अध्ययन गर्नुभयो। विभिन्न ठाउँमा। कहिले इन्डियामा, कहिले नेपालमा बैठकहरु गर्नुभयो। र निष्कर्ष निकाल्नुभयो। तर बुझाउने मौका उहाँहरूले पाउनुभएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यता नेपालतिर त नेपालको प्रधानमन्त्रीहरू त फुर्सदमा नै देखिन्छ। अब म पनि यहाँ पुस्तक विमोचन गरेर हिँडेको छु। ईपीजीको रिर्पोट बुझनै नभ्याउने त के हुन्छ र। हामीहरूले चाँही बुझ्न नभ्याएको छैन। तर भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन।’

प्रधानमन्त्री ओलीले ईपीजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताए।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको समस्या समाधानका लागि खुलस्त ढंगले छलफल गर्नुपर्ने आवश्यकता औैंल्याए।

‘नेपाल र भारतीका बीचका केही समस्याहरु छन्। तिनलाई धेरै ठूलो समस्या भन्न हुन्न। तर त्यो समाधान गर्नै नसकिने समस्या होइन। फराकिलो मन, अलि सहनशीलता, फराकिलो मन भयो। र न्यायोचित मनका साथ कुराकानीमा बस्ने हो भने समाधान गर्न नसकिने भन्ने कुरै हुँदैन। गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्। 

भारतले समय निकालेर ईपीजी प्रतिवेदन बुझ्नेमा प्रधानमन्त्री ओलीले आशा व्यक्त गरे।

‘मैले विचार गरेको छु–लाग्या छ मलाई अब उहाँहरूले पनि समय निकाल्नु होला। बुझौँला। बीचमा कुन कारणले त्यस्तो भयो? म त हामी बनाउने नै मान्छे। उहाँ पनि छानिएर आउनुभएको छ। म पनि छानिएर आएको छु। दुई वटै प्रधानमन्त्री त्यही ईपीजी निर्माण गर्नेहरू नै छौँ। त्यो अगाडि बढ्ला। विभिन्न विषयमा नै समग्र पक्षहरूमा नै,’ प्रधानमन्त्री ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .