ad ad

राजनीति


प्रचण्डलाई लेखकको कटाक्ष : लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौँ

प्रचण्डलाई लेखकको कटाक्ष : लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौँ

नेपालखबर
असार २८, २०८१ शुक्रबार १४:१०, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले आफूमाथि विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रश्ताव गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्ड जबरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरुले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो। 

‘खाली मैले एउटा राजनीतिक विषयमा टिप्पणी गर्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीज्यूले शुरुमै भन्नुभयो–दुई वटा ठूला दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला भनेर चिन्ता गर्नुभयो। यो चिन्ता मैले प्रधानमन्त्रीज्यूबाटमात्रै होइन, मैले पत्रपत्रिकामार्फत विज्ञहरु, विशेषज्ञहरु, राजनीतिक ज्ञाताहरूको पनि मैले यो कुरा सुनेको छु। यस्तो जब्बरजस्त प्रतिपक्षको दलको नेता हुनसक्ने व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ती प्रतिपक्षलाई कमजोर बनायौँ कि। अब प्रतिपक्ष बलियो हुन्छ भन्ने मैले विश्वास गरेको छु,’ उनले भने।

उनले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरूले उनीमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताए।

‘प्रधानमन्त्रीलाई पीडा छ। त्यसले उहाँलाई आक्रोशित बनाएको छ। पीडा र आक्रोशका सँगसँगै इमोशनल भावबाट प्रेरित र निर्देशित हुनुहुन्छ। प्रधानमन्त्रीले विश्वासको मत माग्नुभएको छ। दुई ठूला दलले सहमती गरेर विश्वासको मत नदिने निर्णय गरेका छन्। प्रधानमन्त्रीज्यूले विश्वासको मत नपाउने स्थिति छ,’ लेखकले भने, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीले राख्नुभएको अधिकांश कुरामा मेरो असहमती छ। तर म उहाँले राख्नुभएको कुनैपनि विषयको खण्डन, प्रतिवाद, असहमती केही पनि गर्नेछैन। किनभने यसले थप कटुता उत्पन्न गर्छ। म के मात्रै आग्रह गर्न चाहन्छु भने हाम्रो संस्कार, संस्कृति, समाजले पीडामा रहेका कुनैपनि मानिसमाथि टिप्पणी गर्नु भनेको झन ज्यादा पीडा दिनुभएकाले म त्यतातिर जान चाहन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .