नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने संस्कृति नेपालीहरुको नभएको बताएकी छन्।
बुधबार काठमाडौँमा सुरु भएको पार्टीको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपाको बागमती प्रदेशको इन्चार्ज समेत रहेकी शाक्यले प्रधानमनत्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जन्म दिनमा नेपालको नक्सा अंकित केक काटेको प्रसंग निकाल्दै यस्तो बताएकी हुन्।
प्रशिक्षण कार्यक्रमको सुरुमै बोलेकी शाक्यले प्रधानमन्त्रीतर्फ फर्कंदै भनिन्, ‘केक काटेर जन्म दिन मनाउने संंस्कृति हाम्रो होइन, त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई काटेर खाने संस्कार कहाँबाट आयो? आमालाई काटेर जन्म दिन मनाउनु हुँदैन।’
शाक्यले यसो भन्दै गर्दा कार्यक्रममा उपस्थित नेता कार्यकर्ताले ताली बजाएका थिए।
नेतृ शाक्यले रुपन्तरणको नेतृत्व गर्ने मान्छे नै रुपान्तरित नभए परिवर्तन सम्भव नभएको बताइन्। ‘देश रुपान्तरण गर्ने व्यक्ति पहिला आफैँ रुपान्तरण हुनुपर्यो’, उनले भनिन्।

प्रतिक्रिया