ad ad

राजनीति


१० पटकसम्म केपीको फोन नलागेपछि प्रचण्डलाई माधवले भने– टेलिकम्युनिकेसनमा सुधार गर्नुस्

१० पटकसम्म केपीको फोन नलागेपछि प्रचण्डलाई माधवले भने– टेलिकम्युनिकेसनमा सुधार गर्नुस्

तस्बिर : सरोज बैजु


नेपालखबर
असार १६, २०८१ आइतबार १८:१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टेलिकम्युनिकेसनको सिस्टमलाई सुधार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। 

खासमा, नेपालले प्रधानमन्त्रीलाई यो आग्रह गर्नुको कारण भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन्।

उनले पछिल्लोपटक एमाले अध्यक्ष ओलीको फोनमा लगातार सम्पर्क गर्ने प्रयास गर्दा पनि सफल नभएपछि प्रधानमन्त्रीकै अगाडि ‘टेलिकम्युनिकेसन’ को प्रसंग झिकेका हुन्। 

नेपाल नेतृत्वको पार्टीको आइतबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन थियो। अध्यक्ष नेपालले सबै दलका शीर्ष नेताहरूलाई उद्घाटन समारोहमा उपस्थित हुन निमन्त्रणा दिएका थिए।

नेपालको निमन्त्रण स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्ड, विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेदेखि साना दलका शीर्ष नेताहरू कमलादी पुगेका थिए। 

तर, एमाले अध्यक्ष ओली भने कार्यक्रममा देखिएनन्।

सबै दलका अध्यक्ष/सभापति कार्यक्रममा पुग्दा ओलील नगएपछि नेपाल आफैँले त्यसको कारण खोतल्ने प्रयास गरे। 

साना दलका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म सबैले बोलिसकेपछि अन्त्यमा उद्घाटन सत्रलाई सम्बोधन गरेका नेपालले ओलीलाई पटक पटक फोन गर्दा पनि नलागेको सुनाए। 

यतिमात्रै होइन, ओलीलाई दशौँ पटकसम्म फोन गर्दा नलागेपछि दुई वटा पीएमार्फत आफ्नो कार्यक्रमको जानकारी गराइएको उनले बताए। 

‘नेकपा एमाले किन आएन भन्ने होला। मैले आफैँ दशौँचोटी फोन पनि गरेको छु। फोन नलागेपछि पीएहरूलाई लगातार फोन गरेको छु। एउटा पीएले भएन, अर्को पीएलाई गरेको छु,’ नेपालले स्पष्टीकरण दिँदै भने। 

त्यसपछि उनको भाषण सुनेर मञ्चमै बसेका प्रधानमन्त्रीलाई नेपालले टेलिकम्युनिकेसनको सिस्टम सुधार्न आग्रह गरे। 

‘कस्तो यो फोन पनि अचेल, कि बिग्रिएको छ? प्रधानमन्त्रीज्यू। तपाईंको टेलिकम्युनिकेसनको सिस्टमलाई सुधार्न पर्ने भयो,’ नेपालले भने। 

आफूले ओलीलाई म्यासेज पठाएको र उक्त म्यासेज ओलीको पाएको सूचना पनि लिएको जिकिर गरे। ‘म्यासेजसम्म पठाइदिएको छु, डिटेलमा। म्यासेज पाएको पनि सूचना पाएको छु,’ नेपालले भने।

यति स्पष्टीकरण दिइसकेपछि उनले ३ वर्षअघि आफूले पार्टी फुटाएर ओलीलाई दिएको धोकाबारे सुनाउन थाले। 

‘तर, भर्खर ३ वर्षको घाउ अझै पनि आलै छ, त्यसैको असर बाँकी होला। राजनीतिलाई यस्ता कुराहरूलाई पचाएर जान सक्नुपर्छ। त्यसकारण नआउँदा धेरै गुनासो पनि नगरौँ, सबैप्रति सद्भाव राखौँ। कुनै घृणाभाव राख्नुपर्ने आवश्यक छैन। यो यात्रामा यस्तो भइरहन्छ, लक्ष्यमा पुगिन्छ,’ नेपालको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .