ad ad

राजनीति


मदन-आश्रित हत्याको छानबिन प्रतिवेदन माधव नेपालले सार्वजनिक गर्नुभएन: केपी ओली

समय आएपछि मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लाग्ने दाबी
मदन-आश्रित हत्याको छानबिन प्रतिवेदन माधव नेपालले सार्वजनिक गर्नुभएन: केपी ओली

नेपालखबर
असार १४, २०८१ शुक्रबार १३:४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय आएपछि मदन भण्डारी र जीवराज आश्रितका हत्यार पत्ता लाग्ने बताएका छन्। 

एमालेका तत्कालिन महासचिव भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा राससलाई दिएको अन्तर्वार्तामा उनले ३१ वर्षअघि (२०५० सालमा) मदन–आश्रितको हत्या हुनेगरी भएको दासढुंगा दुर्घटनालाई एमालेले सुरुदेखि नै ‘हत्या’ भन्दै आएको बताएका छन्। 

’दासढुंगा हत्याकाण्डयता एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर घटनाको सत्यतथ्य बाहिर ल्याउन किन सकेन?’ यो प्रश्नको जवाफमा ओलीले भनेका छन्, ‘समय आएपछि दासढुंगा हत्याकाण्डका दोषी पत्ता लाग्छन्।’

उनले सत्ता र शक्ति बाधक मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता नलागेका दाबी गरेका छन्।

‘दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे,’ उनले अगाडि भनेका छन्, ‘हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन। अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो। यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो। यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए। यसको रहस्य पनि खुल्छ कुनै दिन।’

उनले दासढुंगा दुर्घटना पनि दरबार हत्याकाण्ड जस्तै रहस्यकै गर्भमा छ भन्ने आफूलाई लागेको बताएका छन्। 

‘तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन। छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो। हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ। अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ,’ ओलीले भनेका छन्, ‘तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन। दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ। पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ।’

ओलीले यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका बताएका छन्। ‘त्यसलाई पनि हेर्नुपर्ने र मनन् गर्नुपर्ने अवस्था छ,’ उनले भनेका छन्।

त्यतिबेला अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट आफ्नै नेतृत्वमा बनेको छानबिन समितिले प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएको स्मरण पनि उनले गरेका छन्। 

‘त्यो प्रतिवेदन उहाँ (माधव नेपाल)ले सार्वजनिक नै गर्नुभएन,’ ओलीले भनेका छन्, ‘पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ। पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन।’

उनले कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्ने बताएका छन्। 

‘सत्यहरुलाई शक्तिले लुकाउँछन् नै। तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै। समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ,’ओलीले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .