ad ad

राजनीति


हाम्रो पार्टीभित्र विचारमा कुनै मतभेद छैन : माधव नेपाल

हाम्रो पार्टीभित्र विचारमा कुनै मतभेद छैन : माधव नेपाल

नेपालखबर
असार ३, २०८१ सोमबार १३:४६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्। 

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरूको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे।

‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौँ। त्यतिखेरै हामीले घोषणा पत्र जारी गर्दाखेरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर हामीले प्रष्ट सोच र धारणा अगाडि सारेका छौँ,’ नेपालले भने।

उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। 

अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए।

‘पार्टीमा विभिन्न पक्षहरुबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेका छौँ। स्वभाविक रुपमा पार्टीको महाधिवेशनले यी विचारहरूलाई व्यवस्थित रुपले अघि सार्नुपर्ने आवश्यकता पर्दछ। त्यसो हुनाले हामीले यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौँ जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ,’ उनले भने, ‘यसको निम्ति हाम्रो सम्पूर्ण नेता र कार्यकर्ताहरुको सामुहिक बुद्धिबाट नै हामीले दस्तावेजहरु अगाडि सारिरहेका छौँ। यस अर्थमा तपाईंहरूले पनि अझै यसलाई अध्ययन गर्नुहोस् । यसलाई समृद्ध बनाउनका लागि भुमिका खेल्नुहोस्।’

उनले पार्टीले महाधिवेशनका लागि तयार पारेका राजनीतिक, सांगठनिक लगायत दस्तावेजहरुको अध्ययन गरेर त्यसलाई अझ समृद्ध बनाउने काममा पनि सबैको भुमिकाको अपेक्षा गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .