ad ad

राजनीति


ट्रम्प भारत भ्रमणमै रहेका बेला दिल्लीमा हिंसात्मक प्रदर्शन, प्रहरीसहित ४ को मृत्यु

ट्रम्प भारत भ्रमणमै रहेका बेला दिल्लीमा हिंसात्मक प्रदर्शन, प्रहरीसहित ४ को मृत्यु

नेपालखबर
फागुन १३, २०७६ मंगलबार २:९,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला राजधानी दिल्लीमा हिंसात्मक प्रदर्शन भएकाे छ।  ढुंगामुढा र गोली लागेर एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ।

दिल्लीको उत्तरपूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसात्मक प्रदर्शनका क्रममा तीन सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

संशोधित नागरिकता ऐनको विरोध र समर्थनमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा दुई दिनदेखि प्रदर्शन जारी छ। दोस्रो दिन सोमबार प्रदर्शनले हिंसात्मक रूप लिएको हो।

reuters१

सोमबार बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो। प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेसन बन्द गरिएका थिए।

सोमबार प्रदर्शनकारीले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरूमा आगजानी गरेका थिए।

प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए। उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो।

प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिमा परिणत भएको थियो।

सोमबारको हिंसात्मक प्रर्दशनमा ११ प्रहरी र ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ। घाइते प्रहरीमध्ये एकजना डीसीपीसमेत छन्।

प्रदर्शनकै क्रममा ढुंगा लागेर घाइते प्रहरी हवल्दार रतनलालको उपचारका क्रममा मृत्यु भयो भने प्रहरीको गोली र प्रदर्शनकारीको आक्रमणमा अन्य तीन सर्वसाधारणको ज्यान गएको छ।  अबेर रातिसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि अर्धसैनिक बललाई परिचालन गरिएको छ।

dilli

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्ति गर्दै गृह मन्त्रालयलाई स्थिति नियन्त्रण लिनका लागि पर्याप्त मात्रामा प्रहरीलाई खटाउन आग्रह गरेका छन्।

परिस्थितिलाई ध्यानमा राख्दै दिल्ली सरकारले उत्तरपूर्व जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई मंगलबार बन्द गर्न निर्देशन दिएको छ। यसैगरी दिल्ली प्रहरीले त्यसक्षेत्रमा धारा १४४ समेत लागू गरेको छ।

केही नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले राजधानीमै हिंसा हुँदा समेत मौनता साँधेको भन्दै आलोचना गरेका छन्।

सीपीआई मार्क्सवादी नेता सिताराम यचुरीले ट्वीट गर्दै राजधानीकै अवस्था तनावपूर्ण हुँदा समेत प्रधानमन्त्री र गृह मन्त्री चुपचाप बसेर असक्षम र घटनालाई सघाएको आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति भारत भ्रमणका क्रममा दिल्लीमा रहेका बेला भएको हिंसात्मक प्रदर्शनप्रति राजनीतिक दलका नेताहरूले खेद प्रकट गरेका छन्।

भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले विज्ञप्तिमार्फत् दिल्लीवासीलाई साम्प्रदायिक सद्भाव कायम राख्न र धर्मका आधारमा भारतलाई विभाजित गर्न चाहने तत्वहरुको गलत नियतलाई परास्त गर्न आग्रह गरेकी छन्।

सरकारी पक्षले भने अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणलाई लक्ष्य गर्दै सोमबार हिंसात्मक घटना गराइएकाे आरोप लगाएको छ।

सोमबार गुजरातको अहमदाबाद ओर्लेर दिल्ली आइपुगेका ट्रम्प मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .