ad ad

राजनीति


प्रतिनिधिसभा विघटन नगरेको भए एमाले दक्षिणपन्थीको पाउमा पुगिसकेको हुन्थ्यो : ओली

प्रतिनिधिसभा विघटन नगरेको भए एमाले दक्षिणपन्थीको पाउमा पुगिसकेको हुन्थ्यो : ओली

काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओली (तस्बिर : बालकोट)


नेपालखबर
जेठ २६, २०८१ शनिबार १७:११, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटकसम्म प्रतिनिसिधभा विघटन नगरेको भए पार्टीलाई अहिले दक्षिणपन्थीको पाउमा बुझाइसकेको अवस्था भइसकेको हुने बताएका छन्।

शनिबार काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले विघटनको कदममा आफूले हात नहालेको भए आज एमाले नै भन्न नपाउने अवस्था रहेको समेत बताए। 

‘कसरी सरकार ढाल्ने भन्या छ, दौडिएर विपक्षीलाई प्रधानमन्त्री बनाउन कुदेको छ। अदालतमा गएको छ, अनि फेरि ठूलो कुरा गर्या छ। त्यतिबेला प्रतिनिधिसभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैन थियौँ हामीले,’ ओलीले ठोकुवा गर्दै भने, ‘यो अन्तै लगेर बुझाइएको हुन्थ्यो। दक्षिणपन्थीको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाइसकेको हुन्थ्यो।’

साथै, उनले पार्टीमा भएका विकृत्ति, विसंगतिलाई पराजित गर्दै एउटै नीति र सुरमा चल्ने पार्टी बनाउन आफूहरू सफल भएको पनि बताए। 

‘तपाईंहरूले देख्नुभएन, नवौँ महाधिवेशनमा निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख र मजबुद हैसियतमा पुर्याएको छ, जसले देशभरीका पार्टी मिलाएर झण्डै दुई तिहाईको शक्ति बनाएको छ। उसैलाई साधरण सदस्यबाट समेत निकालेको देख्नुभएन?,’ ओलीले भने, ‘त्यसकारण पार्टीमा विकृति, विसंगति थिए, तीनलाई पराजित गरेका छौँ। पार्टी तोड्ने प्रवृत्ति पराजित गरेका छौँ। पार्टीलाई विस्थापित गर्ने, विपक्षमा बोल्ने आदत बनेको थियो, केही नेताहरूको। यी कुराहरूलाई विस्थापित गरेका छौँ। पराजित गरेका छौँ।’

उनले दुनियाँमा एमालेजस्तो संगठित पार्टी कमै भएको समेत जिकिर गरे। 

‘आज पार्टी एउटै नीति, विचार, उद्देश्य, लय एउटै ताल र सुरमा चलेको छ। यो पार्टीको यो एकता दुनियाँका थोरै पार्टीमा होला। यति नीतिमा बाँधिएको एकता, देशभर भएको पंक्ति सायद दुनियाँमा कमै पार्टीमा होला, त्यो पार्टी नेकपा एमाले रहेको छ,’ ओलीको जिकिर थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .