ad ad

राजनीति


विश्वकपमा सन्दीपको अभाव महसुस भयो, अमेरिकी राजदूतसँग स्पष्टीकरण मागौँ: ज्ञानेन्द्र शाही

विश्वकपमा सन्दीपको अभाव महसुस भयो, अमेरिकी राजदूतसँग स्पष्टीकरण मागौँ:  ज्ञानेन्द्र शाही

नेपालखबर
जेठ २३, २०८१ बुधबार १२:५२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जारी आईसीसी टी-२० विश्वकपमा क्रिकेटर सन्दीप लामिछानेको अभाव महसुस भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मंगलबार राति भएको पहिलो खेलमा नेदरल्यान्डसँग नेपाल हार्दा सन्दीपको अभाव महसुस भएको बताएका हुन्।

यस क्रममा राप्रपा प्रवक्तासमेत रहेका सांसद शाहीले आयोजक राष्ट्र अमेरिकाले सन्दीपलाई भिसा नदिएको विषयमा अमेरिकी राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग गरे।

‘दस वर्षपछि नेपालले विश्वकप खेल्यो नेपालको चन्द्रसूर्य झन्डा संसारभर फरफरायो। तर, हामीले हिजो गेम हार्‍यौँ। हिजो सन्दीप लामिछानेको ठूलो आवश्यकता महसुस भयो’, उनले भने, ‘अदालतले सफाइ दिएको, क्यान र आईसीसीले स्वीकृत गरेको, खेलाडीलाई आयोजक देशले भिसा किन नदिएको? सरकारले त्यो देशको राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिएको? कि त सरकार डराएर खुट्टा कापेको हो? होइन भने देशको चन्द्रसूर्य झन्डालाई रोक्न आज यो सरकार अगाडि बढ्न सक्छ। सरकारमाथि प्रश्न चिह्न खडा भएको छ। यसको जवाफ दिनुपर्छ। कुनै व्यक्तिको कुरा होइन। कुनै क्लबको गेम खेल्न जाने लागेको होइन, देशको प्रतिनिधित्व गरेर जाने खेलाडी हो। त्यसैले देशको जिम्मा हुन्छ।’

बलात्कार मुद्दामा उच्च  अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई विश्वकपमा सहभागी गराउने प्रक्रिया अघि बढाएको थियो। यस क्रममा आईसीसीबाट अनुमति पनि प्राप्त भएको थियो तर दुईदुईपटक आवेदन दिँदा पनि अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गर्दा सन्दीप अमेरिका जान पाएनन्। 

मंगरबार रातिको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले हारेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .