ad ad

राजनीति


तराईमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न संसदमा माग

तराईमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न संसदमा माग

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८१ बुधबार १२:२९, काठमाडौँ

जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेसमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा विशेष समय माग गरी सांसद खानले हत्या, आतंक र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरेका हुन्।

“तराई–मधेसका जनता डर र त्रासको वातावरणमा छन्। शान्ति सुरक्षाको वातावरण खस्किएको छ। लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ,” सांसद खानले भने।

उनका अनुसार, सुनसरीको कोशी गाउँपालिका–३ का बसिरन खातुनलाई हालै दाइजोको निहुँमा हत्या गरी सप्तरीको हनुमाननगरस्थित कोसी नदी किनारमा पिपलको रुखमा झुण्ड्याएको अवस्थामा शव फेला परेको थियो। विभिन्न दबाबका कारण जाहेरीसमेत दर्ता भएको छैन।

“रुपन्देहीको गैडहवा गाउँपालिका–१ का तिरु यादव र रामकुमार यादव दुवै दाजुभाइलाई यही जेठ २२ गते स्थानीय पानको पसलमा छुरा प्रहार गरिएको थियो। एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ”, सांसद खानले भने।

त्यस्तै, यही जेठ १२ गते बर्दियाको बढैयाताल गाउँपालिका–३ स्थित गोब्रेपुर गाउँपालिकाका ३० वर्षीया तारा खटिकलाई कुटपिट गरेपछि निजले राति झुण्डिएर आत्महत्या गरेको घटनाबारे इलाका प्रहरीले जाहेरी लिनसमेत नमानेको भन्दै यस्ता घटना दिनप्रतिदिन बढिरहेकाले सरकारले शान्ति सुरक्षाको वातावरण सिर्जना गरी नागरिकको जीवन रक्षा गर्नुपर्ने माग सांसद खानले संसद्समक्ष गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .