ad ad

राजनीति


मधेसका सांसदलाई काठमाडौँ बोलाएरै माधव नेपालले दिएका थिए सरकार छाड्ने निर्देशन

भोलिबाट नयाँ गठबन्धनसँग सल्लाह थाल्ने
मधेसका सांसदलाई काठमाडौँ बोलाएरै माधव नेपालले दिएका थिए सरकार छाड्ने निर्देशन

एकीकृत समाजवादी नहुनेबित्तिकै मधेशमा वर्तमान सरकारले विश्वास गुमाउनेछ


सागर न्यौपाने
जेठ २२, २०८१ मंगलबार २१:४६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेश सरकारबाट हट्न आफ्ना सांसदलाई लिखित निर्देशन दिएको खुलेको छ। 

अध्यक्ष नेपालले बोलाएपछि भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात व्यवस्थामन्त्री बेची लुंगेली सोमबार जनकपुरबाट काठमाडौँ आएका थिए।

मंगलबार बिहानै अध्यक्षलाई भेट्न कोटेश्वर पुगेको न्यौपानेले नेपालखबरलाई बताए।

भेटमा अध्यक्ष नेपालले प्रदेश सरकारबाट राजीनामा दिन र जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए।

‘पार्टीको निर्णयले राजिनामा गरेको हौँ,’ न्यौपानेले भने, ‘मलाई तत्काल सरकार छोडेर समर्थन फिर्ता लिन निर्देशन गरेको थियो।’

‘अध्यक्ष ज्युले पार्टीको निर्णय भन्दै लिखित पत्र आजै दिनुभएको हो,’ उनले भने, ‘केन्द्रमा बनेको नयाँ गठबन्धनलाई सफल पारेर जानुपर्छ, त्यही अनुसार प्रदेशमा पनि केन्द्रकै गठबन्धनलाई सहयोग गरेर जानुपर्छ भन्नुभयो।’

त्यसपछि आजै जनकपुर फर्किएर मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएको उनले बताए।

‘अध्यक्ष ज्युको निर्देशन अनुसार आज साझ मुख्यमन्त्रीलाई भेटेर राजिनामा बुझायौ र समर्थन पनि फिर्ता लियौँ,’ न्यौपानेले भने।

मुख्यमन्त्री यादवले एकीकृत समाजवादीको साथ पाउने देखेर बुधबार विश्वासको मत लिन लागेका थिए।

तर अब यादवको योजना तुहिएको छ। एकीकृत समाजवादी नहुनेबित्तिकै मधेसमा उनले विश्वास गुमाउनेछन्।

अब नयाँ सरकार जनमत पार्टीले बनाउने सहमती भएकोले बुधबार (जेठ २३) गते छलफल थाल्ने उनले जानकारी दिए।

मधेस प्रदेश सभामा १०७ सांसद छन्। सरकार बनाउन ५४ सांसद चाहिन्छ।

एमाले २४, माओवादी केन्द्र ९, जनमत १३ र एकीकृत समाजवादीको ७ सांसद छन्। उनीहरुलाई अब बहुमतका लागि एक सांसद मात्रै अपुग छ।

‘अब नयाँ सरकार गठनको तयारी सुरु हुन्छ,’ न्यौपानेले भने, ‘भोलि गठबन्धनको बैठक बस्ने तय भएको छ।’

जनमत नेतृत्वको सरकारमा आफूहरू पनि सहभागी हुने उनले बताए।

उपेन्द्र यादव नेतृत्वको जसपाले मधेस सरकार जोगाउन अन्तिमसम्म प्रयास गरेको थियो।

जसकारण एकीकृत समाजवादीले मधेस सरकार छोड्न चाहेको थिएन।

तर, आइतबार, सोमबार प्रधानमन्त्री प्रचण्डले समाजवादी अध्यक्ष नेपालसँग निरन्तर छलफल गरे।

छलफलमा नेपालले सबै प्रदेश र केन्द्र सरकारमा सम्मानजनक सहभागिता माग गरे।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिन छलफल गरे।

सुदूरपश्चिम सरकारमा सहभागी हुन एमाले तयार भयो। अनि मधेस प्रदेशबाट एकीकृत समाजवादी बाहिरियो।

केन्द्रमा बनेको गठबन्धन बलियो बनाउने सहमती अनुसार नयाँ खालको समझदारी बनेको नेताहरू बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .