इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पहिलोपटक मंगलबार (जेठ २२) संघीय संसद्को रोस्ट्रमबाट सम्बोधन गरेका छन्।
आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन रोस्ट्रममा पुगेका सुहाङले बजेटबारे मात्रै बोलेनन्। सुरुमै, आफू पहिलोपटक संसद्मा उभिएको प्रसंग झिक्दै नेम्बाङले अन्य विषयमा बोल्ने अनुमति लिए।
उनले बजेटबारे बोल्नुअघि इलामवासी, पार्टी अध्यक्ष केपी शर्मा ओली र सहयोगी गठबन्धनका दलहरूलाई धन्यवाद दिए। बुवा सुवासचन्द्र नेम्बाङको योगदानबारे केही चर्चा गरेका सुहाङले बुवाकै मार्गदर्शनबाट अघि बढ्ने प्रतिबद्धता जनाए।
त्यसपछि बजेटमाथि बोलेका नेम्बाङले बजेट कार्यान्वनमा देखिएका चुनौतीबारे चर्चा गरे। उनले बजेट सुन्दैगर्दा जनतालाई देश बन्छ भन्ने लागेपनि एक वर्षपछिको अवस्था ‘घुमिफिरि रुम्जाटार’ भनेजस्तै हुने गरेको उल्लेख गरे।
साथै, उनले आफू नयाँ सांसद भएको, जनताका आश र माग सबै दिमागमा ताजा भएको लगायतका प्रसंग झिक्दै केही प्रश्न गरे।
‘हाम्रो यात्रा वा यात्राको तयारीमा कहाँ कहाँ समस्या छ? किन हामी विकासका हिसाबले जहाँको त्यहीँ छौँ? कार्यान्वयनको समस्या कहाँ कहाँ छ? विकासको बाधक को को हो? हाम्रो विकास र समृद्धिको बाटोमा किन पटक पटक काँडा भेटिन्छन्? समृद्धिका यात्रामा अघि बढेका पाइलामा किन घरि घरि घाउचोट मात्रै लाग्छ? बाटोका अवरोध पन्छाउनेतर्फ अब हाम्रो ध्यान जानुपर्ने हो कि? समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटि? अथवा राजनीतिक अस्थिरता हो?,’ उनले प्रश्न गरेका छन्।
यस्तो छ नेम्बाङले पहिलोपटक गरेको सम्बोधनको पूर्णपाठः
आज म यहाँ पहिलोपटक सम्मानीत सदनको रोस्ट्रममा उभिएर बोलिरहेको छु। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिन यहाँ उभिएको हुँ। तर, आज मलाई अलिकति बजेटबाहेकका विषयमा पनि बोल्ने सुविधा छ जस्तो मलाई लागेको छ।
सबैभन्दा पहिला आदरणीय रत्नकुमार बान्तवा, बम बान्तवा लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
आज म इलामेलीवासीको कारणले छु। त्यसकारण मलाई विजयी गराएर पठाउने इलाम, देउमाई, चुलाचुली, फाकफोकथुम, माङ्सेबुङ र माईका अति आदरणीय समुदायप्रति आभार प्रकट गर्दछु।
भदौ २६ को अप्रिय घटनापश्चात म वैशाख १५ गतेको उपनिर्वाचन पश्चात पहिलो पटक जब संसद्मा छिरे र उभिएर बोलिरहेको छु। मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ। बुवालाई सम्झिएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
हामी सबैलाई थाहा छ, बुवा सुवासचन्द्र नेम्बाङ लोकतन्त्रको अटल हिमायती हुनुहुन्थ्यो, विचारको विविधता, बहुदलीय प्रतिस्पर्धा र स्वस्थ बहसलाई सम्मान गर्नुहुन्थ्यो। एकबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित हुनुहुन्थ्यो। सबै भाषाभाषी, जातजाती, धर्म र संस्कृतिहरूको सह अस्तित्व र आपसी एकता र मेलमिलापले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा मान्यता राख्नुहुन्थ्यो। म उहाँले देखाउनुभएको यही मार्गदर्शनलाई शीरमा राखेर काम गर्ने संकल्प गर्छु। मेरो हात समाएर अब युवा तयार हुनुपर्छ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टीको श्रद्धय अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ज्यूप्रति आभार व्यक्त गर्दछु। हाम्रो पार्टीका आदरणीय सम्पूर्ण नेता तथा कार्यकर्ता, गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलका नेता तथा कार्यकर्तालाई धन्यवाद भन्न चाहन्छु।
बजेटको सन्दर्भमा अग्रजहरूले राख्नुभएको राय र सुझावलाई समर्थन गर्न चाहन्छु। मलाई लाग्छ, हरेक पक्षको बलियो र कमजोर पक्ष पनि हुन्छ। उज्यालोसँगै छाया पनि हुन्छ, उज्यालो पाटोलाई बोकेर छुटेकालाई सुधार गर्नेतर्फ हाम्रो बहस र सुझाव केन्द्रीत गर्नुपर्छ। बजेट भनेको देशको एक आर्थिक वर्षको आय र व्ययको समग्रता हो। एक वर्षको योजना र कार्यक्रम हो। सरकारको घोषणा पत्र पनि हो। त्यसकारण बजेट यथार्थमा आधारित हुनुपर्छ। मलाई लाग्छ, अर्थमन्त्रीज्यूले यथार्थतालाई टेकेर बजेट ल्याउने प्रयास गर्नुभएको छ।
समयको कारण आज बजेटको समग्र पाटोमा बोल्ने सुविधा छैन। संक्षिप्तमा राख्न चाहन्छु। म नयाँ सांसद हुँ। जनताहरूको हामीप्रतिको आशा, भरोसा र विश्वास मसँग आलो छ। जनताहरूको आशा, अपेक्षामात्र होइन माग र आक्रोश भर्खर सुनेर आएको छु। म युवा पनि हुँ। युवाहरूको परिवर्तनको हुटहुटी, चाहना र समस्यालाई नजिकबाट छामेको छु। जनताको ती आशा, माग र समस्या सम्बोधनका लागि बजेट पर्याप्त छ कि छैन भन्ने ठूलो प्रश्न छ।
यस वर्षको मात्रै होइन, हरेक वर्षको बजेट सुन्दा मलाई लाग्छ, आम जनतालाई लाग्ने गरेको छ। अब देश बन्छ भन्छ। फेरि एक वर्षपछि परिणाम हेर्दैगर्दा घुमिफिरि रुम्जाटार जस्तै देखिन्छ। अनुभवि अग्रज माननीयज्यूहरूको अगाडी उभिएर बोल्दैगर्दा, म प्रश्न गर्न चाहन्छु हाम्रो यात्रा वा यात्राको तयारीमा कहाँ कहाँ समस्या छ? किन हामी विकासका हिसाबले जहाँको त्यहीँ छौँ? कार्यान्वयनको समस्या कहाँ कहाँ छ? विकासको बाधक को को हो? हाम्रो विकास र समृद्धिको बाटोमा किन पटक पटक काँडा भेटिन्छन्? समृद्धिका यात्रामा अघि बढेका पाइलामा किन घरि घरि घाउचोट मात्रै लाग्छ? बाटोका अवरोध पन्छाउनेतर्फ अब हाम्रो ध्यान जानुपर्ने हो कि? समस्या भ्रष्टाचार हो कि संरचनागत त्रुटि? अथवा राजनीतिक अस्थिरता हो? हामीले आफैँलाई प्रश्न सोध्ने बेला आएको छ।
हामीसँग के छैन? प्राकृतिक हिसाबले हामी सम्पन्न छौँ। जनता परिवर्तनको तिव्र आकांक्षामा मात्रै होइन, गहिरो प्रतिवद्धतामा पनि छन्। देशले युवाकाल बाँचिरहेको छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ, संविधान पनि छ। संविधान छ। अन्तर्राष्ट्रिय प्रतिवद्धता छ। आवधिक योजना र रणनीति छ। कार्यान्वयनका लागि संरचना पनि छ। तर हाम्रो यात्रा किन अघि बढिरहेको छैन। तल जनताले योजना मागिरहनुहुन्छ। हाम्रो योजना छनोट गर्छौं, बजेट विनियोजन गर्छौं। तर समयमा बन्दैन। बनेपनि गुणस्तरिय नभएको तथ्य सार्वजनिक भइरहेको हुन्छ। समस्या सुशासनको पो हो कि? यसतर्फ विमर्शका लागि अपिल गर्दै बजेटलाई समर्थन र शुभकामना दिँदै म मेरो मन्तव्य टुंग्याउन चाहन्छु। धन्यवाद।
Shares
प्रतिक्रिया