ad ad

राजनीति


जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रधानमन्त्री

जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रधानमन्त्री

नेपालखबर
फागुन ११, २०७६ आइतबार ११:४१,

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन्।

पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए। आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताए।

‘हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो’, प्रधानमन्त्री ओलीले भने। उनले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताए।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताए। ‘विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ’, उनले भने, ‘यिनै कुरामा हाम्रो ध्यान गएको छ।’

प्रधानमन्त्री ओलीले यहाँका महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गरे। उनले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताए। सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गर्दै उनले भने, ‘उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्, तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस्।’

सो अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उहाँको ६९औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए। शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका थिए। उनले आफ्नो उपचारमा सहयोग गर्ने डा रमेशसिंह भण्डारी, डा दिलीप शर्मालगायतलाई धन्यवाद ज्ञापन गर्दै सहभागीमाझ परिचय गराएका थिए।

कार्यक्रममा खानेपानीमन्त्री विना मगरले मुलुकभर खानेपानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै समृद्धिका लागि स्वच्छ खानेपानीको उपलब्धत गराउन सरकार प्रयत्नशील रहेको बताइन्। ‘खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले यसको सही व्यवस्थापनलाई पहिलो खुड्किलोका रुपमा लिएका छौँ’, मन्त्री मगरले भनिन्, ‘ठूला खानेपानी आयोजनाहरुलाई सफल बनाउन विशेष ध्यान दिएका छौँ।’ उनले खानेपानी आयोजनाहरुको विस्तार र सुधारमा समेत सरकारले सहयोग गर्ने बताइन्।

सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समेत धारणा राखेका थिए।

यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना उद्घाटन
प्रधानमन्त्री ओलीले चार वर्षअघिदेखि निर्माण शुरु भई हालैदेखि सञ्चालनमा आएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गरे। आइतबार कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खानेपानी धाराको टुटी खोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गरेका हुन्।

खानेपानीका मुहान सुक्दै गएपछि साबिक यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२÷७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण शुरु भएको थियो। ती गाविसलाई सरकारले २०६८ सालमै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्यांक छ। कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु¥याई खानेपानी वितरण शुरु गरिएको छ। विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेका पम्पिङ स्टेसन (ट्यांकी)को सहायताले डाँडासम्म पानी पु¥याइएको हो।

प्रतिसेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ। आयोजनाको प्रसारण लाइनतर्फ मुहानमा एउटा ट्यांकी एक, पम्पिङ स्टेसन सात, खोल्सा क्रसिङ र कार्यालय भवन एकएक, पानी ट्यांकी ११ र चौकीदार घर १० निर्माण गरिएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

प्रसारण लाइनतर्फका संरचना गत वर्ष नै निर्माण भइसकेका थिए। तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर तथा वितरण पाइपलाइन १९२.५१ किलोमिटर रहेको सचिव बेल्बासेले जानकारी दिए। वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५, खोल्सा क्रसिङ ३४ र भल्भ च्याम्बर ११५ छन्।

आयोजना निर्माणपूर्व यहाँका तीन हजार ४३ घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भएको हो। हालसम्म यहाँका दुई हजार २०० घरमा खानेपानी जडान भइसकेको छ। यही फागुन महिनाभित्र सबै घरपरिवारका खानेपानी पु¥याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिए।

प्रधानमन्त्री ओलीले कुम्मायक गाउँपालिकामा पर्ने साबिकका तीन गाविसलाई अँध्यारोमुक्त घोषणा पनि गरे। हाल कुम्मायक–१, ३, ४ र ५ मा पुनर्संरचित साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविस अँध्यारोमुक्त घोषणा भएका हुन्।

चार वर्षअघिदेखि विद्युत् विस्तारको काम शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको हो। साबिक स्यावरुम्बा गाविसमा यहाँको स्यावरुम्बा विद्युत् सहकारी संस्थाको अगुवाइमा आठ सय घरमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युतीकरण सम्पन्न भएको हो। नेपाल सरकारको रु दुई करोड ३५ लाख ३२ हजार ७४६ तथा उपभोक्ताबाट संकलित रु २६ लाख १४ हजार ७४९ को लागतमा यहाँ विद्युतीकरण पूरा भएको हो। यहाँ त्रिपुरेश्वर कन्डक्टर÷जयदुर्गे इन्जिनियरिङ जेभी, काठमाडौँले विद्युतीकरण गरेको थियो

यस्तै यासोक र रानीगाउँमा फिदिम विद्युत् सहकारी संस्था लिमिटेडको अगुवाइमा रु सात करोड ९० लाख चार हजार २८० को लागतमा विद्युतीकरण सम्पन्न भएको हो। यहाँ उपभोक्ताले रु ७९ लाख ४२८ संकलन गरेका थिए भने नेपाल सरकारको रु सात करोड ११ लाख तीन हजार ८५२ लगानी छ। यहाँ हालसम्म एक हजार ११५ घरमा विद्युतीकरण पूरा भएको सहकारी संस्थाले जनाएको छ। यहाँ वाइवा इन्फ्राटेक प्रालि, काठमाडौँले विद्युतीकरण गरेको थियो। निकै पिछडिएको यस क्षेत्रमा विद्युतीकरण सम्पन्न भएकामा उपभोक्ताले खुशी व्यक्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .