गत हप्ता नेपाल आर्ट काउन्सिलको भुइँतलाको ग्यालरी हलमा निकै रमाइलो थियो। भित्तामा सजाइएका क्यानभासमा सबैका आँखा तानिए।
‘कस्तो उस्तै रहेछन् चित्रहरु’, क्यानभास हेर्न आउनेहरु भन्दै थिए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि त्यो मौका छोड्न चाहेनन्।
ग्यालरीको भित्तामा सजाइएका क्यानभासमा आँखा डुलाउँदा उनी दंग परे।

‘वाउ, क्या गजबको पोट्रेट रहेछ,’ गोल्छाले उनलाई क्यानभासमा उतार्ने कलाकार भरत सिंहलाई भने, ‘मैले यस्तो पोट्रेट होला भनेर सोचेको पनि थिइनँ।’
खासमा कलाकार भरतले गोल्छासहिट १३ जना गन्यमान्य व्यक्तिको पोट्रेट ग्यालरीमा सजाएका थिए।
आफ्नै पोट्रेट हेरेपछि गोल्छाले कलाकार भरतलाई धन्यवादमात्र होइन, आफ्नै फेसबुक पेजमा लेखे, ‘राष्ट्रिय व्यक्तित्वसँगै ग्यालरीको क्यानभासमा सजिन पाउँदा खुसी छु।’
५ बाइ ५ फिटका ओइल पोट्रेटमा राष्ट्रपति, व्यवसायी, बैंकका सीईओ, कलाकार र समाजसेवी सजिएका थिए।

ग्यालरीको सुरुमा सजाइएकी थिइन् पूर्वयुवराज्ञी हिमानी शाह। त्यस्तै, क्यानभासमा व्यवसायीहरु विनोद चौधरी, रविभक्त श्रेष्ठ, पद्म ज्योति, भोलाविक्रम थापा, कर्ण शाक्य, सुरज वैद्य, अम्विका श्रेष्ठ, अनुप मल्ल सजाइएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी पनि क्यानभासको भित्तामा सजाइएकी थिइन्।
सँगै कलाकार आनी छोइङ डोल्मा, समाजसेवी अनुराधा कोइराला, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह पनि क्यानभासको भित्तामा सजाइएका थिए।
मुलुकका चर्चित व्यक्तिहरु चर्चामा आउनु ठूलो कुरा होइन। सञ्चारमाध्यममा आउनु सामान्य होला तर तिनै व्यक्तिको पोट्रेट बनाउनु र त्यसको प्रदर्शनी गर्नु उनीको लागि पनि ठूलो कुरा हो।
आफ्नै पोट्रेट हेरेर दंग हुन्छन्। कति सप्राइज पनि हुन्छन्।
त्यसमध्ये अधिकांशले अवलोकन समेत गरेका छन्। अवलोकनमा पुगेका सबैको प्रतिक्रया छ, ‘धेरै राम्रो, यसलाई निरन्तरता दिनुहोला।’

कलाकार भरत भारतको मुम्बईमा बस्छन्। लामो समयदेखि मुम्बईमा बसेका भरतका काठमाडौंमा भएको पहिलो र उनको ११औं प्रदर्शनी हो।
पोट्रेट क्यानभासमै खेल्न रुचाउने भरतले १०औँ प्रदर्शनीसम्म आइपुग्दा धेरैले सोधे, ‘कताको हुनुहुन्छ तपाईं।’
‘म नेपालको,’ उनी भन्थे।
‘ए, नेपाली हो, नेपालको बारेमा केही गर्नुभएको छ ?’ मुम्बईमा आउनेहरु सोध्थे।
यसको उत्तर थिएन उनीसँग। नेपाली भएर नेपालको बारेमा कुनै पनि काम गर्न सकिएको छैन भन्ने उनलाई लाग्यो।

‘आफ्नै देशका व्यक्तिहरुको बारेमा किन पोट्रेट नगर्ने त?,’ उनले सोचे।
नेपालका कुन–कुन व्यक्तिको गर्दा राम्रो होला भनेर नाम खोज्न थाले। केहीको सूची बनाए। तिनीहरुको बारेमा अध्ययन गरे।
‘१४ जनाको पोट्रेट गर्ने भनेर नाम छनोट गरेँ,’ शनिबार ग्यालरीमै भेटिएका भरतले भने, ‘मैले जस–जसको गरेको छु। उहाँहरु कलाप्रेमी पनि हुनुहुन्छ।’
मुम्बईमै बसेर उनले यी सबै काम गरे। झण्डै नौ महिना लाग्यो १४ जनाको पोट्रेट गर्न।
धनगढीमा जन्मेका ३२ वर्षे भरत सानैमा मुम्बई गएका थिए। अहिले उनी परिवारसहित मुम्बईमै बस्छन्।
मुम्बईमा भारतका चर्चित व्यक्तिहरुको पोट्रेटको १० वटा ‘सोलो एक्जिविसन’ गरेका भरतले औपचारिक आर्ट कक्षा लिएका छैनन।
स्कुलमा पढ्दा पेन्टिङ गर्न निकै रुचि राख्थे।

कक्षामा हात घोटी घोटी कलर पेन्टिङ गर्थे। नजिकै कतै पेन्टिङ प्रदर्शनी भइरहेको छ भने त्यहीँ पुग्थे।
‘हेर्दाहेर्दा आँखाको जजमेन्टले मैले पेन्टिङ बनाउन थालेँ’, उनी भन्छन्, ‘हेरेर नै सिकेको हुँ।’
गर्दागर्दै कसैको नाक मिल्दैनथ्यो, कसैको आँखा। उनले ती ठाउँमा सुधार गर्दै लगे।
‘पोट्रेट सजिलो हुँदैन। यसमा निकै च्यालेन्ज हुन्छ’, उनी भन्छन्, ‘यसमा धेरै अध्ययन गर्नुपर्ने हुन्छ।’
उनलाई लाग्यो अब मैले पोट्रेट गर्नसक्छु। त्यसपछि उनले पहिलो आफ्नो प्रदर्शनीको तयारी गरे।
भारतका चर्चित व्यवसायी, लेखक, साहित्यकारकोे पोट्रेटलाई प्रदर्शनीमा राखे। जस्तो कि टिना अम्बानी, रतन टाटा, मुकेश अम्बानी, अनिल अम्बानी, हर्स गोइन्काजस्ता व्यवसायी क्यानभासमा पोखिए।
पहिलो प्रदर्शनी नै निकै राम्रो भयो। व्यवसायीले प्रशंसा गरे। जसको पेन्टिङ उनले गरेका थिए, लगभग सबै प्रदर्शनी हेर्न पनि आए।
‘अब मैले पोट्रेट नै गर्नुपर्छ’, उनी हौसिन थाले।
त्यसपछि लगातार १० वटा प्रदर्शनी मुम्बईमै गरे। सबै पोट्रेट नै थिए।
उनले मुम्बईका बाल ठाक्रे, हरिवंश राय बच्चन, शरद अवार, सञ्जय दत्तको पूरा परिवारको पोट्रेट प्रदर्शनी गरेका छन्।
दुई वर्षअघिको नवौँ ‘सोलो एक्जिविसन’मा भरतले भारतका चर्चित व्यवसायी रतन टाटालाई छानेका थिए। उनले टाटाका विभिन्न १४ वटा मुडलाई क्यानभासमा उतारेका थिए।
रतन टाटालाई प्रदर्शनीको जानकारीसहितको कार्ड पठाएका थिए तर आउने निश्चित थिएन।
‘खोइ समय मिल्यो भने आउँला,’ टाटाले उनलाई भनेका थिए।
आइदिए त हुन्थ्यो भन्दै उनी ग्यालरीमा बसिरहेका थिए। प्रदर्शनी सकिनै लाग्दा उनलाई लाग्यो, ‘यो समयमा नगरेको भए पनि हुन्थ्यो कि !’
‘जसको पेन्टिङ गरिएको छ, त्यो व्यक्ति नै नआएपछि के मजा भयो र !,’ उनले सोचिरहेका थिए।
नभन्दै रतन टाटा आइपुगे।

‘वाह, उहाँ त आउनुभयो’, उनले मन–मनमा सोचे।
बबरमहलको आर्ट ग्यालरीमा नेपालखबरसँग भरतले भने, ‘जीवनको एकदमै खुसीको बेला थियो त्यो। मेरो त्यो उपलब्धि पनि।’
‘भरत मैले तिम्रो कार्ड हेरेपछि तिम्रो सोमा आउने विचार बनाएको थिएँ,’ रतन टाटाले उनलाई भेटेपछि भनेका थिए, ‘तिमीले मलाई कसरी छान्यौ?’
उत्तर सहज थियो, ‘भारतको चर्चित र गन्यमान्य व्यक्ति।’
यस्ता धेरै अनुभव उनीसँग छन्। व्यावसायिक कलाकार भएपछि कामलाई निरन्तरता दिनैप¥यो।
आर्टको मूल्य हुँदैन तर पनि व्यावसायिक कलाकारलाई अगाडि बढ्न बिक्री अनिवार्य छ। उनले बनाएको एक पोट्रेटको न्यूनतम मूल्य भारु ५ देखि ७ लाख राखेका छन्।
जब कला मन परेपछि मूल्यको विषय आउँदैन। कति व्यक्ति धेरै खुसी हुन्छ। उनले तोकेभन्दा पनि धेरै मूल्य तिर्छन्।
काठमाडौंबाट केही दिनमा उनी मुम्बई फर्किँदै छन्। मुम्बई फर्किनुअघि उनले आगामी योजना बनाइसकेका छन् – भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकरको पोट्रेट गर्ने।

प्रतिक्रिया