ad ad

राजनीति


प्रधानमन्त्री ओली र बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

प्रधानमन्त्री ओली र बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
फागुन ११, २०७६ आइतबार १०:२७,

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमितता गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुरका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सीईओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन्।

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिए पनि त्यतिकै उन्मुक्ति दिन नहुने आवाज सत्तारुढ नेकपादेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सामाजिक सञ्जालमा समेत नागरिकले चर्को रुपमा उठाएका छन्।

अख्तियारमा परेको उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुन्छ।’

सेक्युरेटी प्रेस खरिदमा स्वीजरल्याण्डका एजेन्ट विजयप्रकाश मिश्रसँग १६ महिनाअघि बास्कोटाले गरेको अडियो बुधबार राति बाहिरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .