राजनीति


प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला

नेपालखबर
फागुन १०, २०७६ शनिबार ११:१२,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन्।

सरकारको नेतृत्वकर्ताका हैसियतमा कमिसन प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने उनको तर्क थियो।

‘भ्रष्टचारीको मुख पनि हेर्दिन भन्ने, सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैँले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनुपर्छ’, उनले भने, ‘उहाँले तत्काल राजीनामा दिनुपर्छ।’

सरकाले सुशासनको नारा दिए पनि भ्रष्टहरुको झण्डलाई पालेर बसेको उनको आरोप थियो।

‘मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ। देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको छ’, उनले भने। सरकारका मन्त्री भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको उल्लेख गर्दै निष्पक्ष छानविनको मागसमेत गरे।

नेता कोइरालाले पार्टीको आन्तरिक विषयमा कुरा गर्दै कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताए। ‘गुट र उपगुटमा डुबेको कांग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन आवश्यक छ’, उनले भने।

नेता कोइरालाले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई गुट उपगुटमुक्त बनाउनुपर्नेमा जोड दिदैं महाधिवेशनको तयारीमा लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad