तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तत्काल पद नछाड्ने बताएका छन्।
उच्च अदालत, पोखराले तनहुँको व्यास नगरपालिकाको मत परिणाम बदर गरी पुनः मत गणना गर्न भने पनि आफूले तत्काल पद छाड्नु नपर्ने र उक्त फैसलाले तात्विक असर पनि नपर्ने उनको भनाइ छ।
‘उच्च अदालतको फैसलाको पूर्ण पाठ आएको छैन। पूर्ण पाठ आएपछि अध्ययन गरी त्यसका विरुद्ध म सर्वोच्च अदालत जान्छु,’ उनले नेपालखबरसँगको कुराकानीमा भने, ‘उच्चको फैसलाले तात्विक फरक पारिहाल्दैन। सर्वोच्चबाट अन्तिम फैसला नभएसम्म मैले पद छाडिहाल्नुपर्दैन।’
नगर प्रमुखका रूपमा आफू नियमित काम गरिरहेको जानकारी पनि उनले दिए।
‘अदालतको फैसलाको त म सम्मान नै गर्छु,’ उनले भने, ‘तर, एउटै मतपत्रमा ७–७ जनालाई मतदान गरिएको हुन्छ। वडा सदस्य, वडाध्यक्ष र उपप्रमुखको मतगणना सदर हुने तर प्रमुखको मात्र बदर हुने भन्ने कुरा अमिल्दो र अव्यावहारिक हुन्छ। सबै उपस्थित भएर सबैलाई देखाएर नै मतगणना भएको हो। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदनमा जाने मेरो हक सुरक्षित नै छ।’
पोखरा उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले मंगलबार मात्र व्यास नगरपालिकाको मत परिणाम बदर गरी पुनः गणना गर्न आदेश दिएको थियो।
निर्वाचन सम्पन्न भएर पनि निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको यो आदेश आएको हो। २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो।
स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए।
दीपक पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्। उनलाई नेकपा एमालेले समर्थन गरेको थियो।
जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित भएका थिए। न्यौपानेले १२ हजार ७८ पाएका थिए भने र जोशीको पक्षमा ११ हजार ८ सय २६ मत देखिएको थियो।
जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थियो।
Shares
प्रतिक्रिया