राजनीति


एमाले जनताको भरपर्दो शक्ति हो भन्ने पुष्टि भयो : विष्णु रिमाल

एमाले जनताको भरपर्दो शक्ति हो भन्ने पुष्टि भयो : विष्णु रिमाल

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १४:५९, काठमाडौँ

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन्।

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उपमहासचिव रिमालले कोसी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क समेत गरे। 

‘पहिलो कुरा त एमालेको शक्ति क्षय भएको छ कि छैन? भनेर मान्छेले क्वेशन गर्थे। इलाम हामीले जितेको ठाउँ हो। र बझाङ हामीले हारेको ठाउँ हो। दुवै ठाउँमा जित्नुको अर्थ के हो भने इलाममा कम्तिमा पनि हामी जहाँको त्यहीँ छौं भन्ने बुझिनै हालियो,’ रिमालले भने, ‘त्यसमाथि बझाङमा हामीले नयाँ प्राप्त ग¥यांै। त्यो हिसावले एमालेको शक्ति वृद्धि भएको त्यसले बुझाउँछ। इलामकै सन्दर्भमा पनि पहिलाको तुलनामा भोटको मार्जिन जुन बढेको छ। त्यसले पपुलर सर्पोट एमालेका पक्षमा छ भन्ने बझाउँछ।’

कोसी प्रदेशको नामाकरण गलत भन्नेहरु, त्यस सन्दर्भमा चपाएर बोल्नेहरु उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उनको भनाइ थियो। 

‘कुन एजेण्डामा दलहरु चुनाव लड्दैछन्? त्यसको आधारमा चाहीँ भोट हाल्ने वा नहाल्ने भन्ने अधिकार जनतालाई हुनुपर्छ भन्दै आयो। विगत केही समयदेखि चाहीँ दलहरुको सिन्डीकेट खडा गरेर हामी त बलियो भयौ है भन्दै जनतालाई एक किसिमले बन्धक बनाउने तरिकाले मतलाई दिग्भ्रमित गर्ने काम भइरहेको थियो,’ रिमालले भने।

उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरुलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गरे। उनले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताए। 

‘त्यो चाहीँ यो पटकको चुनावबाट खण्डित भएको छ र हामीले भन्दै आएको, एमालेले भन्दै आएको यदि एजेण्डा च्वाईस गरेर चुनावमा भोट हाल्न पाए भने जनताले ठिक चयन गर्छन्। र जनताको चयन चाँही सही हुन्छ भन्नेकुरा फेरि पनि पुष्टि भएको छ,’ उनले भने, ‘कोशी प्रदेश नामाकरणमा हामीले साझा नाम कोशी राखेका थियौं। जसले कोशी गलत छ भन्नुभयो, उहाँहरु धेरै तल पर्नुभयो। जसले कोशीको सन्दर्भमा चपाएर बोल्नुभयो। उहाँहरु पनि हार्नु भयो, जसले कोसी राख्नु ठिक थियो भन्ठान्यो।’

उपमहासचिव रिमालले कांग्रेस र एमालेबीच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको पनि बताए। 

तत्कालका लागि कांग्रेससँग सत्ता सहकार्यको सम्भावना छैन। हामी एउटा समीकरणमा छौं, काँग्रेसहरूले पहिला समीकरण बनाए। अहिले यतिखेर चाँही त्यो सम्भावना छैन। अहिले एमाले र काँग्रेसबीच नयाँ समिकरण बन्दै बन्दैन,’ उनले भने, ‘अहिले एमालेले चाहेर बनाउने भनेको के हो भने शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउने हो। त्यो हामीलाई के जरुरी छ र? त्यो जरुरी नै छैन नि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .