राजनीति


पहिलोपल्ट कतारका राजा काठमाडौँमा, राष्ट्रपति–प्रधानमन्त्रीले विमानस्थलमै गरे स्वागत

पहिलोपल्ट कतारका राजा काठमाडौँमा, राष्ट्रपति–प्रधानमन्त्रीले विमानस्थलमै गरे स्वागत

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १६:३५, काठमाडौँ

कतारी राजा  शेख तमिम बिन हमाद अल थानी विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका हुन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए।

स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्च पदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए।

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी कतारी राजा विशेष विमानबाट काठमाडौँ आएका हुन्।

सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ।

अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्नेछन्। 

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .