राजनीति


एमाले प्रतिनिधि परिषद् : सहकार्य कमजोर पार्ने कुनै काम नगर्न गठबन्धन साझेदारलाई आग्रह

एमाले प्रतिनिधि परिषद् : सहकार्य कमजोर पार्ने कुनै काम नगर्न गठबन्धन साझेदारलाई आग्रह

नेपालखबर
बैशाख ९, २०८१ आइतबार १९:२०, काठमाडौँ

नेकपा (एमाले) ले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न सत्तारूढ दलहरूलाई आग्रह गरेको छ।  महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै एमालेले मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन आग्रह गरेको हो।

राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने कतैबाट पनि हुन नदिन सत्ता गठबन्धनका सबै दललाई आहृवान गर्ने प्रस्ताव बैठकले पारित गरेको हो।

एमालेले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित नयाँ समीकरण निर्माणप्रति सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

नेकपा एमाले प्रतिनिधि परिषद् बैठकले सत्ता गठबन्धनका ५ दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत् आजका मुख्य समस्याहरूलाई समाधान गर्ने गरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई सुझाव पनि दिएको छ।

एमाले महाधिवेशन प्रतिनिधिहरूको गोदावरी जमघटले विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्ष निकालेको छ। साथै निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प पनि बैठकले गरेको छ।

एमालेविरुद्ध खडा गरिएको गठबन्धन र घेराबन्दी तोड्न सफल भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलगायत १० औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिको प्रशंसा गर्दै बैठकले विशेष धन्यवाद ज्ञापन गरेको छ।

'यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रुपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प गर्दछ,' १५ बुँदे प्रस्तावमा भनिएको छ।

बैठकले पार्टी शुद्धीकरण र सदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। यस्तै आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आहृवान गरेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।

शनिबार सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

बैठकमा प्रस्तुत दस्तावेजहरूमा २४ सय प्रतिनिधिका बीच समूहगत छलफल गरिएको थियो। समूह नेताहरूले समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरेपछि १५ बुँदे प्रस्ताव तयार पारिएको थियो।

एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव सोमबार मनाउँदै छ। यस अवसरमा गोदावरीमै विशेष समारोह पनि गर्दै छ।

नेकपा एमालेले हीरक महोत्सवमा गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सम्मानित गर्ने निर्णय गरेको छ।

बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिएका थिए। पार्टीका नेता तथा कार्यकर्ता कसैका बारेमा पनि नैतिक प्रश्न, गम्भीर आशंका पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइँदा इमान्दारहरू पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यसप्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। प्रतिवेदनमा पार्टी नेता तथा कार्यकताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिकवान हुनुपर्ने उल्लेख गरिएको छ।

बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले पनि सम्बन्धित विभागको प्रतिवेदन प्रस्तुत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .