इलाम क्षेत्र नम्बर २ का लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गाली र टिकाटिप्पणीबिनै चुनावी प्रचार प्रसार गर्ने प्रतिवद्धता जनाएका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको पनि बताए।
बिना गाली गलौज र टिकाटिप्पणी बिना प्रचारप्रसार नगर्ने प्रतिवद्धता जनाउँदै उनले सबैजना सक्षम र अब्बल रहेको जिकिर गरे। पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरुको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिवद्धता सुहाङले जनाएका छन्।
शनिवार दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन्।
इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।
Shares
प्रतिक्रिया