आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्। उनले अन्ना हजारेसँगै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको रामलीला मैदानमा शपथ समारोह भएको थियो।
दिल्लीका उपराज्यपाल अनिल बाजपेयीले केजरीवालका साथै मनिष सिसोदिया, कैलाश गेहलोत, सत्येन्द्र जैन, गोपाल राई, इमरान हुसेन र राजेन्द्र गौतमलाई पनि शपथ खुवाए।
‘आज तपाईंहरुको छोराले मुख्यमन्त्रीको शपथ लिएको छ। यो विजय मेरो होइन, दिल्लीका प्रत्येक व्यक्ति र प्रत्येक परिवारको विजय हो,’ उनले भने, ‘तपाईंहरुको जीवनमा खुसी ल्याउने हाम्रो प्रयास गत पाँच वर्ष जारी थियो, आगामी पाँच वर्ष पनि जारी रहनेछ।’
‘म सबैसँग मिलेर काम गर्न चाहन्छु। चुनावका बेला खुब राजनीति भयो। तर, अब चुनाव सकिइसक्यो। त्यसबेला विपक्षीले हामीविरुद्ध जे जे भने पनि मैले उनीहरुलाई माफ गरिदिएँ,’ उनले थपे।
केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बनेका हुन्।
१४ फेब्रअरीमा शपथ समारोह आयोजना हुने भनिएको थियो। तर, पुलवामा ४० जवानको ज्यान जानेगरी आतंकवादी हमला भएको दिन परेकाले शपथ सारिएको हो। एजेन्सी

प्रतिक्रिया