राजनीति


एमसीसीमा १ दर्जन सहायक सम्झौता भएका छन्, कार्यदलको अध्ययन त्यसमा केन्द्रित छः रावल

एमसीसीमा १ दर्जन सहायक सम्झौता भएका छन्, कार्यदलको अध्ययन त्यसमा केन्द्रित छः रावल

मणि दाहाल
फागुन ४, २०७६ आइतबार १०:४६,

अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेकपाले गठन गरेको कार्यदलका सदस्य भीम रावलले संसदमा अनुमोदनका लागि पेश गरिएको एमसीसी सम्झौताबाहेक थप एक दर्जन सहायक सम्झौताहरु भएको बताएका छन्।

उनले सो कार्यदलले अहिले ती विषयमा अध्ययन केन्द्रित गरेको जानकारी दिए।

‘संसदमा पेश गरेको चाहिँ मूल सम्झौता हो। त्यसबाहेक त्यसकै अन्य एक दर्जन जति सहायक सम्झौता भएका छन्। हामीले अहिले तिनै सहायक सम्झौताहरुमा अध्ययन केन्द्रित गरेका छौं,’ रावलले भने।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो कार्यदलको औचित्य नै नभएको मनसायका अभिव्यक्ति दिएकोसम्बन्धी सोधिएको जिज्ञासाबारे उनले भने, ‘त्यस्तो अभिव्यक्तिले केन्द्रीय कमिटीको सम्मान हुँदैन।’

केन्द्रीय समितिले सो कार्यदललाई एमसीसीका विषयमा अध्ययन गरी निष्कर्ष र सुझाव दिने जिम्मेवारी दिएको र सोहिअनुसार आफूहरुले काम गरेको उनले बताए।

कार्यदलकाे १०-दिने समयसीमा गतहप्ता सकिएपछि अध्ययनका लागि थप समय  पाएकाे साे टाेलीले बाँकी समयमा काम पुरा गर्ने उनले बताए।

प्रधानमन्त्री ओलीले सरकार छिटै एमसीसी पारित गर्ने पक्षमा रहेकाे र साे कार्यदलले दिने प्रतिवेदनमा जे सुझाव दिए पनि त्यसले केहि फरक नपर्ने बताएका छन्।

एमसीसी सम्झाैताबारे सत्तारुढ नेकपामा चर्काे विवाद भएपछि त्यसकाे अध्ययन गर्न भनी पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे स‌याेजकत्वमा तीन-सदस्यीय कार्यदल गठन गरेकाे थियाे। त्यसमा रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .