राजनीति


रास्वपाको चर्को आलोचना गरिरहेका हर्क साम्पाङले भेटे गृहमन्त्रीलाई

धरानमा सशस्त्रको गुल्म स्थापना र प्रहरीका लागि भवन माग
रास्वपाको चर्को आलोचना गरिरहेका हर्क साम्पाङले भेटे गृहमन्त्रीलाई

तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
चैत १८, २०८० आइतबार १३:४६, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको चर्को आलोचना गरिरहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।

आफूलाई सिद्धयाउनकै लागि रास्वपा आएको जस्ता विवादित अभिव्यक्ति दिएका उनले आइतबार सिंहदरबारमा लामिछानेलाई भेटेका हुन्। 

इलाम क्षेत्र नम्बर २ मा रास्वपाले माओवादी केन्द्र छाडेका मिलन लिम्बूलाई टिकट दिएको छ। उता साम्पाङले भने पहिचानवादी भन्दै इलाम २ मा डकेन्द्रसिंह लिम्बूलाई समर्थन गरेका छन्। 

धरानमा मेयर साम्पाङ र रास्वपाकी नेतृ सरिन तामाङबीच लामो समयदेखि द्वन्द्व छ। यसबीचमा वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुने भएसँगै साम्पाङले रास्वपालाई पहिचान र संघीयताविरोधी भन्दै निशाना बनाइरहेका छन्।

सामाजिक सञ्जालमा निरन्तर रास्वपाको विरोध गरिरहेका साम्पाङले आइतबार गृहमन्त्रीलाई भेटेर धरानमा इलाका प्रहरी, ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन माग गरेका छन्। 

उनले भेटका क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिहरूले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको अनुभव पनि गृहमन्त्रीलाई सुनाएका छन्। 

उक्त भेटका क्रममा साम्पाङलाई गृमन्त्रीले लोकप्रिय जनप्रतिनिधिको संज्ञा दिए।

साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोबारे आफू गम्भीर भएको जवाफ गृहमन्त्री लामिछानेले दिएका छन्। उनले साम्पाङले उठाएका माग सम्बोधन प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन्। 

भेटका क्रममा साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाएका छन्। प्रहरीलाई ‘आमनागरिकलाई भर : गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिवद्धता गृहमन्त्रीले उक्त भेटका क्रममा गरेका छन्।  

गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको छ। कोसी प्रदेशमा धरान लागुऔषध दुर्व्यसनीको अखडका रुपमा चिनिन्छ।

दुर्व्यसनीले नसाका लागि विभिन्न औषधि मिसाएर खाने प्रवृत्ति बढेको अवस्थामा त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्।

उक्त समस्या नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने जवाफ साम्पाङलाई गृहमन्त्रीले दिएका छन्। 

प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता पनि गृहमन्त्रीले दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .