राजनीति


गृहमन्त्रीको जवाफ : कांग्रेसले नैतिकताको पाठ नसिकाओस्, चारै वर्ष संसद्‍ अवरोध गरिरहोस्

गृहमन्त्रीको जवाफ : कांग्रेसले नैतिकताको पाठ नसिकाओस्, चारै वर्ष संसद्‍ अवरोध गरिरहोस्

तस्बिर : नेपालखबर


नेपालखबर
चैत ६, २०८० मंगलबार १५:४९, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई अबको चारै वर्ष संसद्‍मा अवरोध गरिरहन भनेका छन्।

सहकारी ठगी प्रकरणमा मुछिएको आरोपसहित आफ्नो राजीनामा मागिरहेको कांग्रेसलाई मंगलबार बसेको संसद् बैठकका क्रममा गृहमन्त्री लामिछानेले यस्तो चुनौती दिएका हुन्।

संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोलेका उनले छानबिनका लागि संसदीय समिति माग्नु कांग्रेसको अधिकारको कुरा भएको पनि बताए।

उनले आफू सरकारमा काम गर्न आएको पनि बताए। ‘माग गर्नु एउटा कुरा भयो। यो विषय कसरी अघि बढ्छ, समयले बताउला तर म सरकारमा काम गर्न आएको हो, राजीनामा दिन्नँ।’

लामिछानेले कसैले हालिदिएको सामान्य उजुरीकै भरमा कांग्रेसले संसद्‍मा अवरोध गर्न थाल्नु उचित नभएको भन्दै असन्तुष्टि देखाए।

‘संसद्‍मा यस्तै कुरा सिकाइरहने हो भने म कांग्रेसलाई भन्छु, ऊ पनि दूधले नुहाएको पार्टी हो-होइन जनताले बुझेका छन्। अब यसको जवाफ हामी काम गरेर दिन्छौँ। कांग्रेसले यसैगरी ४ वर्षसम्म संसद्‍मा अवरोध गरिरहोस्', उनले भने, ‘अनियमिततामा संलग्न हुने, अनुसन्धान र छानबिनलाई प्रभावित पार्ने, अनुसन्धान भइरहेका बेला कुर्सीबाट हटाउने कांग्रेसले हामीसँग नैतिकताको कुरा गर्ने? सुशासनका गफ दिने? कांग्रेस संसद्‍मा चारै वर्ष अवरुद्ध गरिरहोस्। अहिले जस्तै अवरोध भइरहे पनि हाम्रो संयन्त्रले काम गर्न पाए भने चार वर्षपछि यहाँका धेरै जना सदनमा देखिने छैनन्।’

मंगलबारको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गृहमन्त्री लामिछानेलाई राज्यका कुनै पनि संयन्त्र र निकायले दोषी नदेखाएको बताएका थिए। अहिलेको अवस्थामा रवि कुनै पनि सहकारी ठगी प्रकरणमा जोडिएको प्रमाण नभेटिएको पनि उनले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .