ad ad

राजनीति


ओलीसँग ५० वर्षदेखि सम्बन्ध छ, देश बनाउन पुराना कुरा बिर्सेँ : माधव नेपाल

ओलीसँग ५० वर्षदेखि सम्बन्ध छ, देश बनाउन पुराना कुरा बिर्सेँ : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०८० शनिबार १४:५२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको बताएका छन्। शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। 

साथै, उनले सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको बताए। 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए। 

‘फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका  छौँ,’ अध्यक्ष नेपालले भने।

साथै, उनले एमाले अध्यक्ष केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने जिकिर गरे।

‘पुष्पकमल दाहाल प्रचण्डको पनि विशेष आग्रह थियो। उहाँसँग ४० वर्षदेखि सम्बन्धमा थियौँ। केपी ओलीसँगको सम्बन्ध पनि हिजो आजको होइन। ५० वर्षको सम्बन्ध हुँदै आएको,’ नेपालले अघि भने, ‘यी सबै हिसाबले पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जान दिऔँ। फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका हौँ।’

अहिलेको सत्ता समीकरणमा संख्याले सबै कुराको निर्धारण हुने भएपछि नयाँ गबन्ध्न बनेको पनि उनले बताए। 

‘अहिलेको समीकरणमा संख्याले नै सबै कुराको निर्धारण गर्नेपछि, पटक पटक आग्रह गरिएको छ भने एकीकृत समाजवादीका नेताहरू किन घमन्डी हुनु, कम्युनिस्ट नै आएर मिलौं भन्छन् भने आ आफ्नो पार्टी बलियो बनाउने कुरा त छँदै छ, देश बनाउने कुरामा कमसेकम मिलेर जाऔँ भन्ने भएपछि हाम्रो पार्टी नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गर्यौँ,’ उनले थप प्रष्ट पार्दै भने। 

नयाँ गठबन्धनले साझा कार्यक्रम, विचार र नीतिमा सहमति, कार्यक्रममा एक धारणा बनाउने भनेर दस्तावेज बनाएको पनि बताए।

‘न्युनतम नीति, प्राथमिकता र साझा संकल्प’ नामक उक्त दस्तावेज शनिबार प्रधानमन्त्रीलाई नेताहरूले बुझाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .