ad ad

राजनीति


गणतन्त्रका लागि सहकार्य गरेका प्रचण्ड र विश्वप्रकाशको दोहोरीले कमल थापा हौसिनु शोभनीय भएन : भट्टराई

गणतन्त्रका लागि सहकार्य गरेका प्रचण्ड र विश्वप्रकाशको दोहोरीले कमल थापा हौसिनु शोभनीय भएन : भट्टराई

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ६:२०,

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रका लागि सहकार्य गरेका दलहरुबीचको दोहोरीले राजतन्त्रवादी हौसिनु शोभनीय नभएको बताएका छन्।

बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र त्यसमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रतिक्रिया र राप्रपाका अध्यक्ष कमल थापाले उठाएको प्रश्नलाई लिएर अध्यक्ष भट्टराइले यस्तो बताएका हुन्।

बिहीबार २५ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा अध्यक्ष प्रचण्डले १२ बुँदे सहमतिमा हस्ताक्षरपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले फौजी आक्रमण बढाउन र ठूला आक्रमण गर्न आग्रह गर्ने गरेको बताएका थिए।

प्रचण्डको भनाइ लगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति नै निकालेर आपत्ति जनाएका थिए। उनले शान्ति प्रक्रियाको संयोजन गर्ने आफ्नो स्वर्गीय नेता कोइरालाप्रतिप्रति प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएको प्रतिक्रिया दिएका थिए। प्रवक्ता शर्माले गिरिजा जीवित छँदा नबोलेर उनको निधनपछि तथ्यलाई तोडमोड गर्ने हिसाबले प्रचण्डको अभिव्यक्ति आएको बताएका थिए।

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि तत्कालै सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाएका थिए।

माओवादीलाई फौजी आक्रमण अझै बढाई दिन गिरिजाप्रसादले आग्रह गरेको भन्ने प्रचण्डको भनाईबारे उनले कांग्रेससँग आधिकारिक धारणा मागेका थिए। उनले प्रचण्डको अभिव्यक्तिले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार कांग्रेस भन्ने स्पष्ट हुने प्रतिक्रिया दिएका थिए।

अध्यक्ष भट्टराईले गणतन्त्र कसैको निगाहमा नभई जनताको रगतले ल्याएको कुरा नभुल्न सबैमा आग्रह समेत गरेका छन्। उनले १२ बुँदे समझदारीका मुख्य सूत्रधार आफूहरु जिउँदै छँदाछँदै कसैले दिउँसै रात पार्ने कोशिस नगर्न आग्रह समेत गरेका छन्।

गणतन्त्रका निम्ति सहकार्य गरेका प्रचण्ड र विश्वप्रकाश शर्माको जुहारीले राजतन्त्रवादी कमल थापालाई मात्र हौस्याएको देखिनु शोभनीय भएन’, सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘१२ बुँदे समझदारीका मुख्य सूत्रधार हामी जिउँदै छँदाछँदै कसैले दिउँसै रात पार्ने कोशिश नगरून् । कसैको निगाहले हैन जनताको रगतले गणतन्त्र ल्याएको नभुलौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .