ad ad

राजनीति


संसद्‍मा ओली–प्रचण्ड र विश्वप्रकाशबीच घोचपेच

संसद्‍मा ओली–प्रचण्ड र विश्वप्रकाशबीच घोचपेच

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन ३०, २०८० बुधबार १३:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामा तेस्रोपटक आज (बुधबार) विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र फेरिएको सत्ता समीकरणबारे दलका नेताहरूबीच घोचपेच चलेको छ। 

मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सत्ता समीकरण र बदलिएको राजनीतिबारे नेताहरू एकअर्कालाई दोष थोपर्न उत्रिए।

विश्वासको मत माग्दै संसद्‍मा लामो भाषण गरेका प्रचण्डले अधिकांश समय नेपाली कांग्रेसलक्षित भाषण गरे।

राष्ट्रको बृहत् हित, राजनीतिक मुद्दा, विकास र समृद्धिलाई तीव्रता दिने संकल्पका कारण समीकरण बदल्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो।

विशेषगरी कांग्रेसका नेताहरूले पटक पटक आफूबाट ‘धोका’ पाएको प्रचार गरेकोमा प्रधानमन्त्रीको आपत्ति थियो।

‘एउटै माघले जाडो’ नजाने भन्दै प्रधानमन्त्रीले चेतावनीकै शैलीमा भनेका छन्, ‘गाली गरेपछि सबै समस्याको समाधान हुन्छ भन्ने हो कांग्रेसको?’

प्रधानमन्त्री प्रचण्डपछि संसद्मा सम्बोधन गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग भनाभन गरिरहनु आवश्यक नभएको त बताए। 

तर, उनले पनि कांग्रेसबारे टिप्पणी नगरि आफ्नो सम्बोधन अन्त्य गर्न सकेनन्। 

‘एकदम बाचा बन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भन्ने गर्दै नगरेको नेपाली कांग्रेस भन्दा अचम्म लागेर आश्चर्य मात्रै व्यक्त गरेको,’ ओलीको कटाक्षसहितको भाषा थियो, ‘गाउँघरतिर यस्तो कुरा गर्दा बाउलो तान्ने भन्छ होस गराउनलाई। मैले यसो बाउलो तानिदिएको मात्रै।’

‘व्यक्तिगत आक्रमण गर्न चाहन्नँ। राजनीतिक विषयको प्रतिवाद राजनीतिक तरिकाबाटै हुनुपर्छ। कांग्रेसबाट पनि त्यही अपेक्षा गर्छु। एउटै माघले जाडो जाँदैन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हामी शान्ति सम्झौताका सहयात्री हौँ, लोकतान्त्रिक गणतन्त्रका सहयात्री हौँ, राष्ट्रिय मुद्दामा अझै सहकार्य गर्नुछ, नबिर्सौँ।’

ओलीले कांग्रेसले एक वर्षअघि दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता नलागेको अहिले के अस्थिरता भएको भन्दै प्रश्न गरे। 

‘पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष १४ महिनापछि सरकार परिवर्तन गर्दा के को अस्थिरता भयो? पोहोर अस्थिरता भएको थिएन त? पोहोर साल दुई महिना पनि नपुगिकन शान्त, स्थिर भइकन सरकार परिवर्तन गरेको होइन?’, उनले भने। 

एमाले–माओवादीसहित मिलेर २०७९ पुस १० गते प्रचण्ड नेतृत्वमा पहिलो पटक गठबन्धन सरकार बनेको थियो। तर, उनी प्रधानमन्त्री बनेको दुई महिनामै एमालेसँग सम्बन्ध तोडेर कांग्रेससँग गठबन्धन बनाए। 

त्यतिबेला एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएका थिए भने केही प्रदेशमा मुख्यमन्त्री समेत परिवर्तन भएको थियो। 

त्यही प्रसंग उप्काउँदै ओलीले कांग्रेसप्रति आक्रमण गरेका थिए।

प्रचण्ड र ओलीको कटाक्ष र आक्रमणसहितको भाषण सुनेपछि कांग्रेसका तर्फबाट सम्बोधन सुरु गरे, महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले। 

सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको भनाइ राख्ने क्रममा उनले समीकरण फेरिएपछि सत्तापक्षकै सांसदको पनि मन नखुलेको बताए। 

प्रधानमन्त्री प्रचण्डले दुई तिहाई बहुमत गुमाइसकेको दाबी गरेका शर्माले टेलिभिजनको क्यामेरा बन्द गराएर मतदान गर्दा प्रधानमन्त्रीले विश्वासको मत गुमाउने अवस्था रहेको बताए।

उनले विश्वासको महाखडेरी परेको बेलामा प्रधानमन्त्री मत लिन आएको दाबी गरे।

‘यहाँ आँखा चिम्लन लगाउने हो भने, टेलिभिजनका क्यामेरा बन्द गर्ने हो भने सत्तापक्षमा छौँ, टेबल ठोक्नुहुँदैन भन्नेबाट माथि उठ्ने हो भने आज दुईतिहाइ विश्वास तपाईंबाट फिर्ता भएको छ भन्ने सत्तापक्षमा बसेका साथीहरूको अनुहार पढेर भन्न चाहन्छु,’ सांसद शर्माले भने। 

उनले राष्ट्रिय सभा निर्वाचन, माधव नेपालसँग ओलीको गठजोड, कोसी प्रदेशदेखि महासमिति बैठकसम्मका प्रसंग निकाले।

उनले जनताबाट म्यान्डेट पाउँदा नै गठबन्धन दलप्रति विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको अपमान गरेको दाबी गरे। 

महासमिति बैठकमा प्रस्तुत भएका डकुमेन्टलाई आधार बनाएर प्रधानमन्त्रीले पटक पटक सरकार छाड्नुपरेको तर्क गरेकोप्रति शर्माले आपत्ति जनाए। 

‘कांग्रेसले आफ्नो डकुमेन्ट समयलाई सुनेर लेख्छ, नागरिकको भावना बुझेर लेख्छ, नागरिकलाई सोधेर लेख्छ, देशलाई सोचेर लेख्छ, बुझेर लेख्छ, कांग्रेसलाई सोधेर लेख्छ,’ उनले भने, ‘कांग्रेसको महासमितिले कांग्रेसको डकुमेन्ट कांग्रेसलाई सोधेर लेख्छ, देशको प्रधानमन्त्री वा कम्युनिस्ट पार्टीको अध्यक्षलाई लेख्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .