राजनीति


कोइरालाबारे प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति (भिडियाे)

कोइरालाबारे प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसले जनायो आपत्ति (भिडियाे)

नेपालखबर
फागुन १, २०७६ बिहिबार १४:५७,

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार एक कार्यक्रममा दिएको भनाईप्रति आपत्ति जनाएको छ।

फागुन १ गते पर्ने माओवादी जनयुद्ध दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले माओवादीले सशस्त्र द्वन्द्व जारी राखेका बेला त्यतिबेला आन्दोलनरत् नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले समेत आफूलाई राजाका विरुद्ध अझ ठूला फौजी आक्रमण गर्न सुझाउने गरेको बताएका थिए।

‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साच्चिकै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छंदै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो।’

तर कोइरालाको निधन भएको धेरै बर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्रजिम्मेवार अभिव्यक्ति आएको भन्दै शर्माले प्रचण्डको अभिव्यक्तिलाई दुखद बताएका छन्।

‘ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो,’ उनले भनेका छन्। ‘हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नु आफैमा विरोधाभासपूर्ण छ।’

शर्माले कोइरालाले प्रचण्डलाई ‘जिम्मेवार ढंगले कार्य गर्न’ सुझाव दिने गरेको बताउँदै त्यस्ता प्रसंग चाहिँ सार्वजनिक रुपमा स्मरण गर्नुपर्ने जिकिर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad