सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण बागमती प्रदेश सरकारमा मन्त्री थप्ने योजना रोकिएको छ।
मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार रामेश्वर फुयाललाई भौतिक योजना तथा विकास मन्त्रीको शपथ खुवाउने योजना बनाएका थिए।
तर, प्रदेश समिति इन्चार्ज अष्टलक्ष्मी शाक्यले पौडेलको त्यो प्रस्ताव अस्वीकार गरिन्। पार्टीले सरकारको समीक्षा गरेपछि मात्रै मन्त्री नियुक्तिको विषयमा निर्णय गर्ने अडान शाक्यले राखेपछि यो विवाद पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेको छ।
मुख्यमन्त्री पौडेलले जसरी पनि फुयाललाई मन्त्री बनाउने र इन्चार्ज शाक्यले जसरी पनि रोक्ने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेललाई फोन गरेर मन्त्रिपरिषद् विस्तारको काम रोक्न निर्देशन दिएको प्रदेश सरकारका एक मन्त्रीले बताए।
त्यसपछि मात्रै पौडेल पछि हटेका थिए। फुयाललाई रोक्न नभई पार्टीमा विवाद ननिम्त्यिोस् भनेर प्रधानमन्त्री ओलीले सो निर्देशन दिएको ती मन्त्रीले जानकारी दिए।
‘पार्टीभित्र देखिएको आन्तरिक परिस्थितिका कारण तत्कालै मन्त्री थप हुने छैन,’ मुख्यमन्त्री पौडेल निकट एक सांसदले भने।
इन्चार्ज शाक्यले प्रदेश सरकारको कामको समीक्षापछि मात्रै समावेशी तरिकाले मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताइन्।
‘प्रदेश सरकार गठन भएको दुई वर्ष भयो। पहिले यो सरकारले के गर्न सक्यो, के सकेन, पहिले त्यस विषयमा समीक्षा हुनुपर्छ। अनिमात्रै मन्त्री थप्ने विषय आउँछ,’ शाक्यले नेपालखबरसँग भनिन्, ‘अहिलेको मन्त्रिपरिषदमा एक जना पनि महिला छैनन्। मन्त्रिपरिषद् समावेशी छैन। क्षेत्रीय रुपमा पनि सन्तुलित भएन भन्ने असन्तुष्टि छ। यी सबै विषयलाई सम्बोधन गर्नुपर्छ। त्यसैले पार्टीले मन्त्री थप्न रोकेको हो।’
मुख्यमन्त्री पौडेलले मंगलबार प्रदेश समितिका पदाधिकारीसँग फुयाललाई मन्त्री नियुक्त गर्ने जानकारी गराएका थिए। सो बैठकमा प्रदेश समितिका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तथा सचिव र प्रदेश सरकारका मन्त्री सम्मिलित थिए।
प्रदेशको सबैभन्दा ठूलो भौतिक योजना तथा विकास मन्त्रालय लामो समय आफूमातहत रहँदा सोचेजति काम हुन नसकेको पौडेलले सो बैठकमा बताएका थिए। २०७५ कात्तिक महिनामा मुख्यमन्त्री पौडेल र तत्कालीन भौतिक योजना तथा विकास मन्त्री केशव स्थापितबीच मन्त्रिपरिषद् बैठकमै विवाद भएको थियो। त्यस लगत्तै पौडेलले स्थापितलाई बर्खास्त गरेका थिए र सो मन्त्रालय आफूमातहत राखेका थिए।
तर, प्रदेश इन्चार्ज शाक्यले मुख्यमन्त्री पौडेलको प्रस्ताव अस्वीकार गरेपछि बैठकमा विवाद उत्पन्न भएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए।
इन्चार्ज शाक्यले प्रदेश सरकारप्रति जताततै असन्तुष्टि रहेको र त्यसले नराम्रो परिणाम ल्याउन सक्ने चेतावनी बैठकमा दिएकी थिइन्।
विवादपछि बैठक बिनानिश्कर्ष टुंगिएको थियो।
‘शाक्य आफैँ मुख्यमन्त्री बन्ने योजनामा हुनुहुन्छ’
बागमती प्रदेशको भौतिक मन्त्री बन्न चाहनेहरु धेरै भएपछि नेकपामा विवाद चर्किंदै गएको छ। फुयालका अतिरिक्त काठमाडौँका सांसद वसन्त मानन्धर, नुवाकोटका सांसद केशव पाण्डे, सामाजिक विकासमन्त्री युवराज दुलाल पनि भौतिक योजना मन्त्री बन्ने दौडमा छन्।
नेकपाका प्रदेश कमिटीका एक पदाधिकारीअनुसार प्रदेशसभाका दर्जनौ सांसद सबैभन्दा धेरै बजेट भएको भौतिक योजना तथा विकास मन्त्री हुन चाहन्छन्। त्यसमा सबैभन्दा अघि मुख्यमन्त्री पौडेलसँग निकट रहेका फुयाल छन्।
पौडेल निकट नेताहरु भने इन्चार्ज शाक्य आफैँ मुख्यमन्त्री बन्ने प्रयासमा रहेको बताउँछन्। ‘शाक्य सके आफैँ नसके राजेन्द्र पाण्डे वा शालिकराम जमकट्टेललाई मुख्यमन्त्री बनाउने योजनामा हुनुहुन्छ,’ पौडेल निकट एक सांसदले भने।
प्रदेशसभाको संसदीय दलको नेता चुन्न पौडेल र शाक्यबीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया