ad ad

राजनीति


प्रचण्डप्रति बाबुरामको आक्रोश : उल्टै ‘ठूलो उथलपुथल’ भन्ने!

प्रचण्डप्रति बाबुरामको आक्रोश : उल्टै ‘ठूलो उथलपुथल’ भन्ने!

नेपालखबर
फागुन २१, २०८० सोमबार २०:२५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको गठबन्धन परिवर्तन र मन्त्रिपरिषद् पुनर्गठनप्रति पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाली कांग्रेससहितको साती दलीय गठबन्धन भंग गर्दै नेकपा एमाले सम्मिलित नयाँ गठबन्धन निर्माण गरेका हुन्।

यस क्रममा उनले पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ मन्त्रिमण्डलसमेत गठन गरिसकेका छन्।

कार्यभार पछि तोकिने गरी सोमबार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ खाइसकेका छन्। 

यसलाई डा. भट्टराईले ‘नांगो अवसरवाद’को संज्ञा दिँदै जनयुद्धकालीन सहयात्री प्रचण्डको कडा आलोचना गरेका हुन्। 

‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा  ‘संविधान र लोकतन्त्रको रक्षा निम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘ वामपन्थी/कम्युनिस्ट एकता निम्ति’ भन्ने’, डा. भट्टराईले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठूलो उथलपुथल’ भन्ने! विचरा सोझा कार्यकर्ता किंकर्तव्यविमूढ बनेर मन लागी, नलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’को नयाँ संस्करण नभए के हो?’

यस कदमले गणतन्त्रप्रति जनतामा वितृष्णा र प्रतिगमनको खतरा बढाउने दाबी भट्टराईले गरेका छन्। 

उनले कटाक्ष गर्दै लेखेका छन्, नेपाली ‘किस्सा कुर्सीका’ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरेहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटकपटक मञ्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने, जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने भयो।’

उनले आह्वान गर्दै अगाडि लेखेका छन्, ‘अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्य/मान्यता बाँकी रहेकाहरूले भन्नैपर्छ– अब अति भो! इनफ इज इनफ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .