राजनीति


धनराजको प्रतिक्रिया : प्रधानमन्त्री प्रचण्डले कोल्टे फेर्नुभयो, हाम्रो कुनै गुनासो छैन

धनराजको प्रतिक्रिया : प्रधानमन्त्री प्रचण्डले कोल्टे फेर्नुभयो, हाम्रो कुनै गुनासो छैन

कांग्रेस उपसभापति धनराज गुरुङ। तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २१, २०८० सोमबार १६:१६, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक स्थिरताका लागि कांग्रेसले नेकपा मा‌‌ओवादी केन्द्रसँग गठबन्धन गर्नुलाई राजनीतिक बाध्यता भनेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा करिब ११ महिना लामो सहकार्य सोमबार टुंगिएसँगै उनले यस्तो बताएका हुन्। 

प्रचण्ड नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका गुरुङले प्रचण्डले नेकपा एमालेसँग मिल्ने निर्णयप्रति आफ्नो कुनै गुनासो नरहेको पनि बताए। 

प्रचण्डले एमालेसँग सहकार्य गर्ने निर्णयपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सोमबार बिहान बूढानीलकण्ठमा बसेर केही बेर समीक्षा गरेको उनले जानकारी दिए। 

‘बूढानीलकण्ठमा एकछिन बैठक गरेर मन्त्री क्वार्टरतिर आइसक्यौँ’, उनले भने, ‘त्यहाँ खासै गम्भीर कुरा भएन। ब्रिफिङ पनि खासै भएन’, उनले भने, ‘प्रधानमन्त्रीले कोल्टो फेर्नु भयो। कोल्टे फेरेको कारण के हुन सक्छ र? नेपालको राजनीति हामीले बुझेकै छौँ।’

उपसभापति गुरुङले प्रचण्डले कोल्टे फेर्दा कांग्रेस सरकारबाट बाहिरिएको बताए। ‘मेरो यसमा कुनै पनि गुनासो छैन। गुनासो गर्ने पक्षमा पनि छैन’, उनले नेपालखबरलाई भने, ‘एमालेसँग मिल्ने  त्यो कुरा उहाँकै हो नि। हाम्रो बैठकमा आ-आफ्नै ढंगको छलफल भयो। अब यसबारेमा केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बसेर विस्तृत समीक्षा हुन्छ।’ 

उपसभापति गुरुङले प्रचण्डले कोल्टे फेरेको अवस्थामा अब कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहने बताए। ‘संसद्मा अब कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्छ। हामी देशभर संगठन विस्तार अभियानमा होमिन्छौँ’, उनले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .