राजनीति


एमालेले सरकारलाई भन्यो : लघुवित्तपीडितलाई मुद्दा नचलाउनू, बिनाशर्त छाड्नू

एमालेले सरकारलाई भन्यो : लघुवित्तपीडितलाई मुद्दा नचलाउनू, बिनाशर्त छाड्नू

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार २०:६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा छिरेपछि पक्राउ परेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन सरकारलाई आग्रह गरेको छ।

एमालेको टोलीले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पक्राउ परेका लघुवित्त पीडित ४८ जना महिला र एकजना पुरुषविरुद्ध मुद्दा नचलाउन आग्रह गरेको हो। 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संसदीय दलका सचेतक महेश बर्तौलालगायतको टोलीले गृहमन्त्री श्रेष्ठसँग भेट गर्दै मुद्दा नचलाउन भनेको हो। 

लघुवित्त पीडितहरूको एक समूह आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई धकेल्दै संसद् भवन परिसरमा छिरेर नाराबाजी गरेपछि पक्राउ परेका थिए।

उनीहरू सबैविरुद्ध शान्ति सुरक्षा भंग गरेको आरोपमा मुद्दा चलाउने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद दिइसकेको छ। 

यस्तोमा एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु ठिक हुने बताउँदै बिनाशर्त रिहा गर्न गृहमन्त्री श्रेष्ठलाई भनेको छ।

एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायका लागि आन्दोलनरत रहेको बताए। उनीहरू सुरक्षा संयन्त्रको कमजोरीका कारण संसद् भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउन नहुने बर्तौलाले बताए। 

एमालेले संसद् भवन परिसर र सिंहदरबार परिसरमा बार लगाएर निषेधित क्षेत्र तोकिएकोमा असन्तुष्टि जनाएको छ।

सुरक्षा संयन्त्रलाई बलियो बनाई ती स्थानको तारबार हटाउन पनि गृहमन्त्रीलाई आग्रह गरिएको सचेतक बर्तौलाले बताए।

एमालेले मिटरब्याज पीडितहरू हिँडेरै काठमाडौँसम्म आन्दोलनमा आएका भन्दै उनीहरूको माग सम्बोधन गरेर घर पठाउन पनि भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .