ad ad

राजनीति


अनेरास्ववियूको दाबी : बालकुमारी घटनामा मन्त्री ज्वाला निर्दोष, बदनाम गर्न खोजियो

अनेरास्ववियूको दाबी : बालकुमारी घटनामा मन्त्री ज्वाला निर्दोष, बदनाम गर्न खोजियो

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८० मंगलबार १९:२१, काठमाडौँ

सत्तारुढ नेकपा एकीकृत समाजवादी संगठननिकट अनेरास्ववियूले गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाशको बदनाम गर्न खोजिएको आरोप लगाएको छ।

उक्त संगठनकी अध्यक्ष आरती लामाले मंगलबार एक वक्तव्य निकालेर बालकुमारी घटनाको दोष मन्त्री ज्वालालाई थोपरेर मुख्य दोषीलाई बचाउन खोजिएको आरोप लगाएकी हुन्।

उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बालकुमारीमा दुईजनाको ज्यान जानुको प्रमुख कारक मन्त्री ज्वाला नै रहेको निष्कर्षसहितको प्रतिवेदन दिएपछि समाजवादी र उसका संगठन चिढिएका छन्। 

लामाले विज्ञप्तिमा सत्य कुरालाई बंग्याउँदै निर्दोष रहेका मन्त्री ज्वालालाई लाञ्छित गर्ने, निर्दोषलाई दोषी बनाउने र खास दोषीलाई उन्मुक्ति दिने कुरा स्वीकार्न नसक्ने उल्लेख गरेकी छन्। 

लामाले शान्ति सुरक्षासँग सम्बन्धित गतिविधिमा संलग्न नहुने भौतिक मन्त्री ज्वालालाई जोड्दै समाजवादीका नेताहरूलाईसमेत प्रहार गरिनु दुःखद रहेको जिकिर गरेकी छन्।

बालकुमारी घटनाका पीडितलाई न्याय दिलाउन छाडेर एक पार्टीको नेतृत्वलाई प्रहार गर्ने शैली आपराधिक मानसिकता भएको उनको जिकिर छ।

‘पछिल्लो पटक उक्त घटनाको छानबिनका लागि बनेको आयोगले हाम्रो पार्टीका उपमहासचिव एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको नाम जोडेर कपोलकल्पित निष्कर्ष निकालेकोमा अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ’, लामाले भनेकी छन्, ‘ईपीएस तथा शान्ति सुरक्षासँग सम्बन्धित गतिविधिमा संलग्न नहुने मन्त्रालय र मन्त्रीको नाम जोडेर टिप्पणी हुनु दु:खद छ। यसरी टिप्पणी गर्नेहरूको आन्तरिक योजना नै निश्चित नेता र पार्टीमाथिको प्रहार भएकोप्रति संगठनको सिंगो पंक्ति सजग छ।’

उनले ज्वालामाथिको प्रहारलाई आपराधिक प्रवृत्तिको उपज भनेकी छन्। ‘पीडित पक्षलाई न्याय प्राप्तिका लागि लाग्नु भन्दा कुनै पार्टीको नेतृत्वमाथि प्रहार गर्ने शैली अपराधिक सोचबाट ग्रस्त रहेको हाम्रो निष्कर्ष छ’, उनले भनेकी छन्, ‘छानबिन आयोगको प्रतिवेदन षडयन्त्रमूलक, पूर्वाग्रही र निर्दोष ब्यक्ति भौतिक पूर्वाधार मन्त्रीमाथि दोष थोपरेर सुरक्षा र विषयसँग सम्बन्धित दोषीहरूलाई निर्दोष सावित गर्ने सुनियोजित रुपमा ल्याइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .