सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ८ सयजना बढी नेताहरू उपस्थित हुने भएका छन्। माओवादी बैठक आइतबार र सोमबार काठमाडौँमा बस्न लागेको हो।
माओवादीको हाल केन्द्रीय समिति संख्या ४ सय ९ छ। वैकल्पिक केन्द्रीय समिति संख्या १ सय ९० छ।
त्यसैगरी केन्द्रीय समिति बैठकमा प्रदेशका पदाधिकारीलाई समेत सहभागी गराउने निर्णय भएको छ। सबै प्रदेशका कूल पदाधिकारी ९४ छन्। माओवादीले १० प्रदेशको अभ्यास गरिरहेको छ।
यसैगरी माओवादी केन्द्रको केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति र केन्द्रीय निर्वाचन समिति गरी तीनवटा आयोग छन्।
यी आयोगमा ७५ सदस्य छन्।
‘झण्डै ८ सय हाराहारी बैठकमा सहभागी हुनुहुन्छ,’ माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेपालखबरसँग भने, ‘बैठकमा सहभागी हुनेहरुलाई कार्डको व्यवस्था गरिएको छ।’
केन्द्रीय समिति बैठक काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ।
बैठकमा विधान सम्मेलनका लागि विधानमाथि केन्द्रीय सदस्यहरुले सुझाव राख्न पाउने छन्।
‘खुला सत्र पनि भएकाले राम्रै बहस र छलफल हुन्छ,’ उपाध्ययले थपे।
यसअघि गत साउन १७ देखि २१ सम्म काठमाडैंकै प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष चुनिएपछि माओवादीको पाँचौ केन्द्रीय समिति बैठक बस्न लागेको हो।
Shares
प्रतिक्रिया